Logo
Logo

निगमका अध्यक्षलाई प्राधिकरणले सोध्यो- ग्राउन्ड ह्यान्डिलिङ शुल्क किन समायोजन भएन ?



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणले अधिकारीलाई संशोधित ग्राउन्ड ह्यान्डिलिङ शुल्क कार्यान्वयन नगरेको र भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’ गर्दा सरकारको निर्णयअनुसार सेवा शुल्क नउठाएको भन्दै प्राधिकरणले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बुधबार पत्र लेख्दै प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को पालना नभएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति तपाईंलाई निगमको एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ?’

साथै, अध्यक्ष अधिकारीले एकाउन्टेबल म्यानेजरबाट नहटाएकामा पनि प्राधिकरणले स्पष्टीकरण सोधेको छ । प्राधिकरणले अध्यक्ष अधिकारीलाई सोधेको छ, ‘एकाउन्टेबल म्यानेजरबाट किन नहटाउने ?’

निगमका अनुसार एकाउन्टेबल म्यानेजरबाट हटाउने अवस्था आयो भने अध्यक्ष अधिकारीले वायु सेवा कम्पनीको अध्यक्षको हैसियतमा गरेका निर्णयहरुको वैधता हुने छैन । त्यसैले पनि अधिकारीले ‘एकाउन्टेबल म्यानेजर’बाट आफूलाई हटाएका छैनन् ।

प्राधिकरणले ७ भदौ २०७९मा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराएबापत सेवा प्रदायक निगमले संकलन गर्न पाउने संशोधित सेवा शुल्क तोकेको थियो । त्यसअनुसार ग्राउन्ड ह्यान्डिलिङको शुल्क समायोजन हुनुपर्दथ्यो । तर, वायुसेवा निगमले त्यो कार्यान्वयन गरेको छैन ।

१५ भदौदेखि लागु हुनुपर्ने संशोधित शुल्क लागू नभएपछि प्राधिकरणले यसअघि गत १७ चैतमा पनि अध्यक्षलाई पत्र काट्दै स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्