Logo
Logo

मालपोतका हाकिम पाँच लाख घुससहित पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ६ मंसिर ।
मालपोत कार्यालयमा घुसखोरी ढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डललाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।


सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात अदालतमा पेस गर्न घुस मागेका थिए। अदालतले कागज पेस गर्न भनेपछि स्वतः पठाउनुपर्ने कागज उनले लुकाएर राखेका थिए।
उक्त कुराको जानकारी अख्तियारले पाएपछि केही दिनदेखि उनीमाथि निगरानी गरिरहेको थियो। उच्च अदालत जनकपुरको राजविराज इजलासमा चलिरहेको जग्गा मुद्दामा पेस गर्नुपर्ने फाइल ताकेता गर्दा पनि निमित्त प्रमुखले नपठाएपछि सेवाग्राहीले अख्तियारको सहयोग लिएका थिए।

निमित्त प्रमुख मण्डलले अदालतमा पेस गर्नुपर्ने फाइल पठाउनका लागि ५ लाख घुस माग्दै आएका थिए। आफूले फाइल नपठाए मुद्दा हार्ने धम्की दिँदै उनले सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेका थिए।

अदालतमा रहेको मुद्दा हार्ने भएपछि उनले रकम दिन तयार रहेको भन्दै अख्तियालाई सूचना दिएका थिए। सेवाग्राहीको सूचनापछि अख्तियारले स्टिंग अप्रेसनको योजना बनाएको थियो।

अख्तियारको कार्यालय बर्दिवासको टोलीले सेवाग्राहीलाई पाँच लाख रकम दिएर पठाएको थियो। रकमसहित पछ्याउँदै सिराहा गएको अख्तिायरको टोलीले निमित्त प्रमुखलाई कार्यकक्षबाटै रकमसहित रङ्गेहात पक्राउ गरेको हो। घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको र कार्यकक्षबाटै निमित्त प्रमुख मण्डललाई पक्राउ गरिएको आयोग बर्दिवासका प्रवक्ता हरिप्रसाद घिमिरेले बताए।
आयोगको टोलीले घटनाको मुजुल्का तयार गरेर निमित्त प्रमुखलाई थप अनुसन्धान गरी मुद्दा दायर गर्न काठमाडौं पठाउने उनले जानकारी दिए।
दुई दिनअघि मात्र मालपोत कार्यालय नासु रोशकाजी जोसपाउन ५० हजार घुससहित पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्