
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आग्रह–पूर्वाग्रह नराखी अनुसन्धानमा प्रहरीलाई सघाउन पार्टी तयार रहेको एमालेले बताएको छ ।
नेपालीलाई नक्कली कागजात बनाई भुटानी बनाउने र तेस्रो मुलुक पठाउने प्रकरणमा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउपछि उक्त प्रकरणमा मुछिएका जो कोही भएपनि प्रहरी अनुसन्धानमा सहयोग गर्ने बताएको हो ।
नक्कली भुटानी शरणार्थी बनाई ठगी गरेको उक्त प्रकरणलाई पार्टीले गम्भीर रुपमा लिएको र उक्त प्रकरणमा सरकारले कुनै पुर्वाग्रह नराखी अनुसन्धान गर्नुपर्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उक्त ठगी प्रकरणमा कानुन पालनालाई सघाउने एमालेको स्थायी नीति रहेको पनि उनले बताए । ‘हामीले यस प्रकरणलाई गम्भीर रूपले लिएका छौं। यस्ता खालका प्रकरणमा कानुन पालनालाई सघाउने एमालेको स्थायी नीति छ,’ ‘सरकारले पूर्वाग्रह नराखी अनुसन्धान गरोस्।’ उनले भने ।
यस प्रकरणमा बैठक बसेर थप धारणा सार्वजनिक गर्ने पनि उनले बताए। ‘यो प्रकरण आएपछि हामीले विस्तृत छलफल गर्न पाएका छैनौं,’ उनले थपे, ‘राज्यका निकायलाई सहयोग गर्ने नै हाम्रो नीति छ। यसमा प्रतिबद्ध छौं।’
सचिव टोपबहादुर रायमाझीलाई आज (बिहिबार) बिहान भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पुर्जी जारी भएका बेला टोपबहादुर गृह जिल्ला अर्घाखाँचीमा थिए। उनी हिजै फर्कने तय भए पनि पक्राउ पर्ने डरले उनी काठमाडौं नआइ सम्पर्कविहीन भएका थिए । साेही प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परिसकेका छन्। गएराति पक्राउ परेका उनलाई आज बिहानै बुद्ध एयरको विमानमार्फत् काठमाडौं ल्याइसकिएको छ। उनलाई आजै अदालतमा पेश गर्ने तयारी गरेको छ ।











