काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रकरणमा सांसदलाई बाटोबाटै समाउनु रहष्यमय भएको बताएका छन् ।

पार्टीका सचिव टोपबहादुर रायमाझी नै तानिएपछि ओलीले यस विषयमा पार्टीले अध्ययन गरिरहेको बताए । ‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौँ’, बिहीबार ओलीले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि भने ।
उनले निर्दोष पर्नु नहुने र दोषि उम्कन नहुने बताए । ‘दोषिलाई छुटाउने हाम्रो प्रयास हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने हामी सहदैनौँ’, ओलीले भने, ‘चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’
ओलीले यसबारे पनि प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीका सचिव रायमाझीका विषयमा प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा आज छलफल गरेका हुन् ।














