काठमाडौं । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमाले सचिव टोपबहादुर रायमाझीले अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरेको खुलेको छ ।
रायमाझीसँग हिजो (बुधबार) साँझ आफ्नो कुरा भएको ओलीले जानकारी दिएका हुन् । आज (बिहीबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेर फर्कने क्रममा ओलले सो जानकारी दिएका हुन् । ओलीले टोपबहादुरसँग आफूले कुरा गरेको बताएपनि कसले फोन गरेका थिए भन्ने खुलाएनन् ।

ओलीले पत्रकारहरूसँग भने– ‘मैले उहाँ (रायमाझी) सँग हिजो बेलुकी कुरा गरेको थिएँ । तपाईंलाई पक्राउ पुर्जी भनेको सुन्छु केही जानकारी छ ? उहाँले मैले आइजिपीलाई कुरा गरेको छु भन्नुभयो । एक पटक स्पष्ट पारिदिनुपर्छ भन्नुभयो ।’
फोनमा रायमाझीले ओलीलाई आफू काठमाडौं आउन लागेको पनि बताएका थिए । उनले भने, ‘ म भोलि काठमाडौं आउँदै छु भन्नुभएको थियो, काठमाडौं आउँछु भनेको मान्छेलाई आज कोही समात्यो भन्छन्, कोही फरार भन्छन्, के हो थाहा छैन ।’
उपप्रधानमन्त्रीसमेत भइसकेको र सांसदसमेत रहेका टोपबहादुर भागेर कहीँ नजाने ओलीको भनाइ छ । रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोसिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।
ओलीले भने- ‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको रहस्यपूर्ण छ, अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’
एमाले अध्यक्ष ओलीलाई ‘काठमाडौं आउँदै छु’ भनेका टोपबहादुर कहाँ गए भन्ने अहिलेसम्म खुलेको छैन । टोपबहादुरविरुद्ध हिजो (बुधबार) नै पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी रायमाझीलाई प्रहरीले खोजी तीव्र पारेको छ । तर, यो समाचार तयार पार्दासम्म उनी पक्राउ परेका छैनन् ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी बुधबार अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए ।
उनी अर्घाखाँचीको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका थिए । उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए । साथै कानुनलाई सहयोग गर्नेसमेत प्रतिक्रिया उनले दिएका थिए ।
कानुनलाई सघाउँछु र अोलीलाई काठमाडौं आउँदै छु भनेका उनै रायमाझी बुधबार रातिदेखि नै फरार छन् । उनको फोनसमेत स्विच अफ रहेको प्रहरीको दाबी छ । उनको अन्तिम लोकेसन भैरहवामा ट्र्याक भएको प्रहरीले बताएका थिए।
रायमाझी बुधबार नै सभामुख घिमिरेसँगै काठमाडौं फर्किने भन्दै सोही प्लेनमा टिकटसमेत भइसकेको थियो । तर, यता काठमाडौं विमानस्थलमा झर्नेबित्तिकै प्रहरीले उनलाई पक्रिने सुइँको पाएपछि उनी फरार भएका हुन् । उनी बुटवलतिर लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि टोपबहादुर र उनका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ ।











