Logo
Logo

विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ र नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजित ‘इलेक्ट्रिक मोबिलिटी आगामी नीति तथा बजेटका लागि सुझाव’ कार्यक्रममा उनले विद्युतीय सवारीका लागि नीतिगत र पूर्वाधारमा सुधार गरिने बताए ।

उनले विद्युतीय सवारीसाधन र इमोबिलिटीलाई प्राथमिकतामा राखेर सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट बनाउने उल्लेख गरे । ‘मैले यहाँ चार्जिङ स्टेशनको पूर्वाधार पनि बन्दै गरेको सुनेँ’, उनले भने, ‘विद्युतीय सवारीका लागि आवश्यक पूर्वाधार बनाउने विषयमा सरकार गम्भीर छ ।’

नेपाल आयल निगमका उपनिर्देशक मनोजकुमार ठाकुरले पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वयको थप आवश्यकता रहेको बताए । ‘पेट्रोलपम्पमा चार्जिङ स्टेशन राख्न मापदण्ड बनाउनु पर्छ’, उनले भने, ‘चार्जिङ स्टेशन राख्दा निमगले के सहयोग गर्नुपर्छ त्यसका लागि तयार छ ।’

नेपाल विद्युत प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न स्पष्ट नीतिगत व्यवस्था नभए पनि भन्सार दर कम गर्न सकेमा मात्र पनि विद्युतीय सवारीको बजार बढ्ने विश्वास व्यक्त गरे । ‘केही वर्ष अघिसम्म इन्धनबाट चल्ने गाडीसँग तुलना गरिन्थ्यो भने अहिले उपभोक्तामा विद्युतीय सवारीप्रतिको विश्वास बढ्दै गएको छ’, उनले भने, ‘यसका लागि प्राधिकरणले देशभर चार्जिङ पूर्वाधार बनाउने र निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको छ ।’

आन्तरिक राजस्व विभागका निर्देशक राजु प्याकुरेलले विद्युतीय सवारीमा बजेटले तोकेबमोजिमको कर लिइरहेको बताउनुभयो । सरकारले तोकेअनुसारको कर सङ्कलन गरिरहे पनि विद्युतीय सवारीमा लाग्दै आइरहेको करको दर घटाउनु देशको अर्थतन्त्र र वातावरणलाई समेत फाइदा हुनेमा विभाग जानकार रहेको उनकोे भनाइ थियो ।

नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘इमोबिलिटी’ अबको भविष्य भएकाले सरकारले यो विषयमा स्पष्ट नीति लिनुपर्ने बताए । ‘सरकारले सन् २०२५ सम्म नेपालमा गुड्ने कूल निजी सवारीमध्ये विद्युतीय सवारीको सङ्ख्या २५ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ’, उनले भने, ‘तर, प्रत्येक वर्षको बजेटमा विद्युतीय सवारीमा लाग्ने भन्सारदर घटबढ हुँदा उपभोक्ता निश्चिन्त बन्न सकेका छैनन् ।’

कार्यक्रममा व्यवसायीले नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवर्द्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा जोड दिएको थिए । विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन नीतिगत स्थिरता हुनुपर्नेमा उनीहरूको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्