Logo
Logo

प्रभुको १६ प्रतिशत बोनस पारित, शेयर संरचना परिवर्तन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ मंसिर । प्रभु बैंकको प्रस्तावित १६ प्रतिशत बोनस शेयर पारित भएको छ । बैंकको १८औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेबमोजिम बैंकका सेयरधनीले चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर पाउने भएका छन् । १६ प्रतिशत बोनस शेयरपश्चात बैंकको चुक्ता पुँजी १०अर्ब ३१ करोड रुपैयाँ नाघेको छ ।
त्यस्तै, संस्थापक र सर्वसाधारण समूहतर्फको शेयर स्वामित्व समेत सभाले परिवर्तन गरेको छ । बैंकले संस्थापक समूहतर्फ कायम रहेको ५५ प्रतिशत शेयर स्वामित्व घटाएर ५१ प्रतिशत पुर्याएको छ भने सर्वसाधारण समूहतर्फ कायम रहेको ४५ प्रतिशतको शेयर स्वामित्व बढाएर ४९ प्रतिशत पुर्याएको छ । सभाले शेयर स्वामित्वको आधारमा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जनाको प्रतिनिधित्व हुने गरी संचालक समितिको प्रस्तावलाई पारित गरेको हो ।
धितोपत्रसम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा सञ्चालन गर्ने व्यवस्था थप गर्नका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत सभाले पारित गरेको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथा खरिदसम्बन्धी प्रक्रिया अगाडि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । हाल बैंकले ३७ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १५२ वटा एटिएम मेशिन तथा १९६ वटा शाखा कार्यालयमार्फत बैंकिंङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्