Logo
Logo

भ्रष्टहरूको संरक्षक ‘ओली बा’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सुशासनको नारा लगाएर थाक्दैनन् । तर, व्यवहार भने ठीक उल्टो छ । उनी ‘भ्रष्टहरूको संरक्षक’ हुन् भन्ने कतै लुक्दैन ।

विगतमा बहुचर्चित घोटालामा संलग्न दर्शनौँलाई संरक्षण गरेका ओली यतिबेला ‘नक्कली भुटानी शरणार्थी प्रकरण’मा संलग्न आफ्ना नेता जोगाउन लागिपरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ‘खबरदार मेरो मान्छे पक्राउ गर्लास्’ भन्दै धम्क्याउन भ्याइसकेका छन् ।

करोडौं रकम असुल्दै नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा एमाले सचिव टोपबहादुर रायमाझीको संलग्नता घाम जस्तै छर्लङ्ग भएको छ । तर, उनै रायमाझीलाई उन्मुक्ति दिन ओली टुप्पी कसेर लागिपरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा टोपबहादुरकोे संलग्नता रहेको प्रारम्भिक निष्कर्षसहित प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर, टोपबहादुर अझै पक्राउ परेका छैनन् । बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर ओलीले टोपबहादुरलाई पक्राउ गरे राम्रो नहुने धम्की दिए ।

विशेष स्रोतका अनुसार टोपबहादुरलाई बिहीबार बिहानै प्रहरीले भैरहवामा पक्राउ गरिसकेको थियो । तर, ओलीले प्रधानमन्त्रीलगायत सँग कुरा गरेर भगाए । ओलीले संरक्षण गर्ने भएपछि टोपबहादुर मोबाइल अफ गरेर आनन्दले कतै सुतेका छन् ।
प्रधानमन्त्रीसँग भेटेपछि पत्रकारसँग ओलीले दिएको प्रतिक्रियाले पनि के पुष्टि हुन्छ भने– ओली खुलेरै भ्रष्टहरूको संरक्षणमा लाग्छन् । उनले पत्रकारसँग भने– ‘बहालवाला सांसदलाई षड्यन्त्रपूर्वक तरिकाले बाटोबाट च्याप्प समात्न पाइन्छ ? राजनीतिक प्रतिशोधका आधारमा यस्तो गर्न पाइन्नँ ।’

टोपबहादुराई अहिलेसम्म आरोप मात्र लागेको हो । प्रहरीको अनुसन्धान र अदालतको निर्णय बाँकी नै छ । यस्तो बेलामा ‘मेरो पार्टीले अनुसन्धानमा सहयोग गर्छ’ भन्नुपर्नेमा ओलीले ‘पक्राउ गरे राम्रो हुन्न’ भनेर भ्रष्टहरूको संरक्षकको रुपमा आफूलाई उभ्याएका छन् ।

ओली आज टोपबहादुरलाई जोगाउन मात्र लागिपरेका होइनन् । यसअघि पनि आफ्ना दर्जनौँ नेतालाई अर्बौँ घोटाला तथा अपराधमा जोगाएका छन् । ईश्वर पौडेल, विष्णु पौडेल, योगेश भट्टराई, पद्यमा अर्याल, भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, महेश बस्नेत, लेखराज भट्ट, डा. युवराज खतिवाडा, रघुवीर महासेठ, सर्वेन्द्र खनालहरूलाई जोगाइसकेका छन् ।

– भुटानी शरणार्थी काण्ड– टोपबहादुर रायमाझी
– सेक्युरिटी प्रिन्टिङ प्रेस (७० करोड) काण्ड– गोकुल बाँस्कोटा
– बालुवाटार जग्गा काण्ड– विष्णु पौडेल
– वाइडबडी जहाज काण्ड–
– यति र ओमनी काण्ड– योगेश भट्टराई
– बतास काण्ड– योगेश भट्टराई
– कोरोना कालमा घोटाला काण्ड– भानुभक्त
– झापाको चियाबगान काण्ड– पद्यमा अर्याल
– सांसद अपहरण काण्ड– सर्वेन्द्र खनाल
–सांसद अपहरण काण्ड– महेश बस्नेत
–नुन आयात काण्ड– विष्णु पौडेल
–मल खरिद काण्ड– पद्यमा अर्याल
–भन्सार छुट काण्ड– युवराज खतिवाडा
–पानी ट्याङ्की पैसा काण्ड– ईश्वर पोखरेल
–चुन उत्खनन काण्ड– लेखराज भट्ट
–यातायात सिण्डिकेट काण्ड– रघुविर महासेठ

इतिहासकै शक्तिशाली प्रधानमन्त्री बन्दा ओलीले सुरुबाटै विकास र समृद्धिको नारा बाँडेका थिए । नागरिकको आकांक्षा ह्वात्तै बढाउन ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारे । तर, साढे तीन वर्ष प्रधानमन्त्री बन्दा त्यसलाई साकार पार्ने आधार नै निर्माण गर्न सकेनन् । आफू निकट भ्रष्टहरूलाई जोगाउनमै व्यस्त रहे । सत्तामा हुँदा ‘भ्रष्टहरूको संरक्षक’ बनेका ओली सत्ता बाहिर रहँदा पनि भ्रष्टहरूलाई नै जोगाउन मरिहत्ते गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्