काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली शरणार्थी प्रकरणमा संलग्न जो कोहीमाथि कारबाही हुने बताएका छन् ।

शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पूर्वसभामुख समेत रहेका महराले सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने बताए ।
‘जो दोषी छन्, तिनी कारबाहीको दायराभित्र पर्दछन् । जो दोषी छैन, त्यो त कारबाहीको दायराभित्र पर्ने कुरा भएन । सरकारभित्र हुन् वा बाहिर, दोषीलाई कारबाही हुन्छ । त्यसमा कुनै भेदभाव हुँदैन ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिँदैमा सरकार नढल्ने बताए । रास्वपाले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको भनाई थियो । सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या नभएको उनले उल्लेख गरे ।
‘सरकारलाई सहयोग गरेको पार्टीले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने हुन्छ । तर, सरकारसँग रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी नभए पनि पर्याप्त बहुमत छ । बहुमतको अभाव छैन,’ उनले भने, ‘त्यसकारणले सरकार टिक्छ । सरकार यथावत् रहन्छ । र, विश्वासको मत पनि जित्छ भन्ने आधार छ । त्यसकारण यसमा मैले कुनै दुविधामा नरहन पनि पत्रकार मित्रहरूलाई आग्रह गर्न चाहन्छु ।’
समाजवादी मोर्चा घोषणाका लागि आफूहरू प्रयासरत रहेको पनि उनले बताए । त्यसका लागि नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका ६ राजनीतिक दलका नेतासँग छलफल जारी रहेको उनले बताए ।











