Logo
Logo

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै


1k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ । यस अघि वैशाख ११ गते न्यायाधीश दिपक ढकालको इजलासमा तोकिएको अन्तिम सुनुवाइ जाहेरवालाको तर्फबाट चार कानुन व्यवसायीहरूले बहस गरेपछि स्थगित भएको थियो ।

त्यसपछि आज पुनः सुनुवाई हुन लागेको हो । आज पीडितले अन्तरिम राहत माग गर्दै परेको निवेदनमा पनि सुनुवाइ हुनेछ ।
सन्दीपविरुद्धको मुद्दाका पीडितले अन्तरिम राहत माग गर्दै पेस गरेको निवेदनको सुनुवाइ गत बिहीबार भएको थियो ।

सुनुवाइपछि इजलासले आज मुख्य मुद्दाको सुनुवाइ हुने भन्दै सँगै राखी पेस गर्न आदेश दिएको छ । लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

गत वर्ष भदौ ५ गते पटक–पटक बलात्कार गरेको आरोपमा भदौ २१ गते जाहेरी दर्ता भएको थियो । उनी उजुरी दर्ता भएको १ महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

पक्राउ परेपछि उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिएको थियो । अनुसन्धान सकिएसँगै कार्तिक १५ गते उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) बमोजिम को कसुरमा मुद्दा दायर भयो ।

लामिछानेलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दफा २१९ को उपदफा ३ (घ) अनुसार १० देखि १२ वर्षसम्म सम्मको कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग गरिएको छ ।

मुद्दा दायर भएसँगै उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
उक्त आदेश पाटन उच्च अदालतले उल्टाउँदै लामिछानेलाई विदेश जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो ।

उच्च अदालतको उक्त आदेश सदर गर्दै सर्वोच्च अदालतको न्यायाधीसद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनलाई क्रिकेट खेल्न विदेश समेत जान मिल्ने गरी धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्