
काठमाडौं । नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद आचार्यलाई आज (आइतबार) महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् ।
हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने छ । वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका थिए ।
नवनियुक्त मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । उनी कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी सांसद हुन् ।











