Logo
Logo

ओलीको आरोप- गठबन्धनले सरकार परिवर्तनको खेलबाहेक केही गर्न सकेको छैन


945
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलका कारण देशमा अस्थिरता छाएको आरोप लगाएका छन् । सत्तारुढ दलहरु सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही गर्न नसकेको उनको आरोप छ ।

फाइल फोटो

संघीय संसद् भवनमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो, नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो ।’

अध्यक्ष ओलीले प्रदेशमा त्यही खेल चलाइरहेका आरोप लगाउँदै भने, ‘देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले १०–१० वटा पार्टी मिलेर पनि गठधन्धनले सरकार बनाउन नसकेको समेत आरोप लगाए । उनले भने, ‘कोही छुट्दैछन् कोही भर्ती हुँदैछन् । अस्तिको दिनमा मात्र एउटा घटकले सरकारले छोड्यो । अस्ति कहिले ३ जना मन्त्री बल्ल थप्यो । अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश । तामाशा देखाइएको छ ।’

यो सरकारबाट जनताको पक्षमा केही काम नभएको बताउँदै उनले भने, ‘कुप्रचार गरेर जनतालाई रनभुल्लमा पार्ने काम मात्र भएको छ । हाम्रो महानगर, उपमहानगरहरूले कसरी काम गरेको छ । कोही भत्काउने काम मात्र गर्छ, निर्माणको काम केही छैन ।’

प्रतिक्रिया दिनुहोस्