काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अबौं ठगी गर्ने टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याउन चुनौती दिएका छन् ।

प्रतिनिधसभाको बजेट अधिवेशनको पहिलो बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने विषय उठेको हो । त्यसै क्रममा एमालेका सांसदहरूले नक्कली भुटानी शरणार्थीमात्रै नभई अरु विषय पनि छानबिन गर्नुपर्ने बताएका थिए । जवाफमा सांसद सापकोटाले प्रमुख प्रतिपक्षका साथीहरूले छापामार शैलीमा केही कुरा राखेकाे बताए ।
उनले भने, ‘प्रमुख प्रतिपक्ष साँच्चै भ्रष्टाचारीहरूलाई कारबाही गर्नका लागि इमानदार हो भने तपाईंहरू विषयान्तर नगर्नस् । प्रधानमन्त्रीले बोलेका कुराहरूलाई खिसिट्युरी गरिराख्नुभएको छ, तपाईंहरूलाई नै त्यसले नांगो बनाइरहेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर तपाईंहरूले कानुनको दायरामा बुझाउनुहोस, त्यसैमा कल्याण छ ।’
एमालेका सांसदहरूले नेपालीलाई नक्कली शरणार्थी बनाउने प्रकरणमा संलग्न आफ्ना सांसद तथा सचिव रायमाझीलाई पक्राउ पुर्जीसमेत जारी भइसकेको अवस्थामा विषयान्तर गर्न खोजेको सापकोटाको भनाइ छ । एमालेले उक्त प्रकरणलाई विषयान्तर गर्न खोजेको र सदन कब्जा गर्न खोजेको उनले बताए ।











