Logo
Logo

‘एउटा नारीले आफ्नै हैसियतमा राजनीति गरेको यो देशमा सहृय हुँदैन’


882
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको बैठकमै आक्रोश पोखेकी छन् । आइतबार बसेको प्रतिनिधिसधा बैठकमा राणाले बैठकमा आफू नभएको दिनमा आफूलाई इङ्गित गरेर अनेक प्रश्नहरु उठ्ने गरेको भन्दै आक्रोश पोखेकी हुन् ।

उनले तथ्यमा आधारित भएर कुरा गर्नुपर्ने भन्दै आफूसहित सबै सांसदहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नसमेत माग गर्दै भनिन्, ‘कसको कति सम्पत्ति बढ्यो ? कति घट्यो ? छानबिन हुनुपर्छ ।’

भष्टाचारमा जोडिएपछि आक्रोशित बनेकी राणाले भनिन्, ‘भ्रष्टाचारको कुरामा हामी साँच्चिकै कति सिरियस छौँ भन्ने मेरो प्रश्न छ । यहाँ म नभएको दिनमा मलाई इङ्गित गरेर अनेक प्रश्नहरू उठेका छन् । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सहृय हुँदैन रहेछ । अझैपनि नारीले पुरुषले भनेको ठाउँमा मात्रै बस्नुपर्ने, उनीहरुले भनेको मात्रै बोल्नुपर्ने, अलिकति पब्लिक लाइफमा आयो भने पुरुषलाई असहृय हुने परिस्थिति बनेको छ ।’

उनले यस्तो नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा समेत भइरहेको बताइन् । ‘हामीले संविधानमार्फत यो कुराको विरुद्धमा लेखेका छौँ । त्यसकारण मैले केही बिराएको छैन, म डराउँदिन ।’

तथ्यभन्दा बाहिर गएर जथाभावी नबोल्न र भाषण नगर्न आग्रह गर्दै उनले भनिन्, ‘हामीले पटक–पटक सम्पत्ति विवरण बुझाउँछौँ, मेरो श्रीमान पाँच–छ पटक प्रधानमन्त्री हुनुभयो, मेरो लगायत मेरो श्रीमानको सम्पत्ति विवरण सरकारसँग सुरक्षित छ । म अनुरोध गर्न चाहान्छु, हामी जत्ति जना सांसद छौँ, सबैको सम्पत्ति विवरण वेभसाइटमा राखियोस्, सार्वजनिक गरियोस् ।’

सांसदले भारतमा न्यायलयका कर्मचारीले हरेक महिना खर्चको विवरण सार्वजनिक गर्ने गरेको भन्दै उनले नेपालमा पनि त्यस्तै कानून ल्याउन सक्नुपर्ने बताइन् । राणाले भनिन्, ‘भारतमा हरेक महिना न्यायालयका कर्मचारीले आफ्नो सबै हिसाब बिल सार्वजनिक गर्नुपर्छ । के हामी त्यस्तै कानून यहाँ ल्याउन सक्छौँ ? कुरा ठूलठूला गर्ने, भाषण जे पनि गर्ने । अनि तथ्यमा आधारित हुनुपर्छ कि पर्दैन ?’

प्रतिक्रिया दिनुहोस्