काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी मुद्दामा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई थप ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

यही २० वैशाखमा जिल्ला अदालत काठमाडौंले पाण्डेलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । उक्त म्याद आइतबार सकिएपछि प्रहरीले अनुसन्धान नसकिएको भन्दै हिरासतमा राख्ने समय थप गरिदिन अदालतमा पेश गरेको थियो ।
त्यसपछि अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पाण्डेविरुद्ध ठगी र संगठित अपराध मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ











