
काठमाडौं । प्रतिनिधिसभा बैठकमा आजदेखि तीन दिनसम्म प्रि बजेटका विषयमा छलफल हुने भएको छ ।
आइतबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकले वैशाख २५ देखि २७ गतेसम्म प्रि–बजेटमाथि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म छलफल गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार आजबाट प्रि बजेटका बारेमा छलफल हुने नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार वैशाख २७ गते अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिने गरी कार्य तालिका तय भएको छ । सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरेको छ ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पूर्व सन्ध्यामा राजनीतिक दलहरूले प्रि बजेटका बारेमा छलफल सुरु गरेका छन । गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।











