Logo
Logo

देउवाबाट दिक्क भएका गगनले पोखे सञ्जालमै आक्रोश, अब के गर्लान् ?


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र तरंग ल्याउनेगरि सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । थापाले आइतबार बेलुका फेसबुक र ट्वीटरमा निराशा र आक्रोशले भरिएकाे एउटा स्टाटस लेखेका छन् ।

उनले भनेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !’

उनको यस स्टाटसले धेरैजना अचम्ममा परेका छन् । पार्टीभित्र जे जति विवाद भएपनि सार्वजनिक तहमा निकै अड्कलेर बोल्ने व्यक्ति हुन थापा । तर, आइतबार निकै दिक्दारीपूर्ण स्टाटस लेखेपछि अब उनले के गर्ने हुन् भन्ने चासो बढेको छ । कतिले त गगनले अब नयाँ पार्टी खोल्छन भन्न समेत भ्याइसके ।

गगन निकट स्रोतका अनुसार उनले पछिल्लो समय पार्टीका हरेक बैठकमा पार्टीभित्रको अवस्था सुधारको लागि कुरा उठाउने गरेका छन् । तर सभापति शेरबहादुर देउवाले थापाकै कुरा सुन्नै मान्दैनन् । बरु ‘के के गर्ने हो आफै गरे भैहाल्यो नी’ भनेर जवाफ दिने गरेका छन् ।

पार्टीले गर्ने हरेक निर्णयदेखि सरकारमा मन्त्री पठाउँदा समेत देउवाले आफ्ना मान्छेमात्रै च्याप्ने गरेका छन् । अझ भनौं गत महाधिवेशनबाट अत्याधिक मतसहित महामन्त्री विजयी भएका उनले पदअनुसारको भूमिका पाउन सकेका छैनन् । देउवाको मनोमानी शैलीबाट दिक्क भएका उनी अब ‘बोल्ड’ कदमको तयारीमा रहेको बुझिन्छ ।

निकटस्थका अनुसार गगन थापाले पार्टी छाड्ने नभई पार्टीभित्र नयाँ ध्रुविकरण गर्ने र केन्द्रदेखि गाउँसम्म सभापतिको एकलौटीविरुद्ध अभियान चलाउने योजना बनाएका छन् ।

गगन थापाले पार्टीभित्र असन्तुष्ट बनेका अरु खेमाका नेताहरुलाई पनि आफैतिर तान्ने र देउवाविरुद्ध पार्टीभित्र बलियो धार निर्माण गर्ने योजना बनाएका छन् । यसको लागि उनी आन्तरिक छलफलमा समेत जुटिसकेको नजिकका नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्