
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसद बैठकमै कपडा खाेलेर विरोध जनाएका छन् । सोमबार प्रतिनिधिसभाको जारी बैठकमा आफूलाई बोल्न समय नदिएको भन्दै उनले कपडा खोलेर विरोध जनाएका हुन् ।
११ बजे बैठक सुरु हुनेबित्तिकै अमरेश कुमारले आफ्नो आसनबाट उठेर बोल्न खोजे । सँगसँगै नेमकिपाका सांसद प्रेम सुवालले पनि बोल्न खोजे । तर, सभामुख देवराज घिमिरेले बोल्ने समय दुबै जनालाई समय नदिएपछि आक्रोशित बन्दै स्वतन्त्र सांसद सिंहले धमाधम आफ्नो कम्मरमाथिको कपडा फुकाल्न थाले । उनले सर्टदेखि भित्री भेस्टसम्म फुकालेर सर्वाङ्ग बने ।
उनले धमाधम लुका फुकाल्न थालेपछि सभामुख नै एकछिन अलमलमा देखिए । त्यही क्रममा संसदका कर्मचारीहरुको सहयोग लिएर सभामुखले कारबाही गर्ने चेतावनी दिए । सभामुखले भने, ‘माननीय सदस्य बसौँ म तपाईंलाई नियमावलीको नियम २१ को खण्ड ‘घ’ आकर्षित गर्न चाहन्छु ।
उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका थिए । घिमिरेले यस्तो व्यवहार गरिरहेमा आफूले थप कारबाही चलाउने चेतावनी पनि सिंहलाई दिएका थिए ।
बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिएपछि उनी रोकिएका थिए ।
त्यसपछि अहिले उनी संसद बैठकबाट बाहिरिएका छन् । सांसद सिंह आइतबारको संसद बैठकमा पनि विरोधमा उत्रिएका थिए ।
संसद नियमवालीको नियम ३० अन्तर्गत अभद्र व्यवहा गर्ने सदस्यहरुलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ ।
‘चेतावनी शीर्षक अन्तर्गत बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्नेछ,’ नियमवालीमा भनिएको छ ।
त्यसैगरी यदि सभामुखको आदेश पालना नगरेको अवस्थामा सभामुखले कुनै पनि सदस्यलाई बैठकबाट निस्केर जान आदेश दिन सक्ने नियमावलीमा उल्लेख छ ।
नियम ३१ अन्तर्गत बैठक कक्षबाट निष्काशन शीर्षकमा भनिएको छ, ‘नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछ। आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर जानुपर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन पाउने छैन ।’
त्यसैगरी नियम ३१ कै उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने उल्लेख छ ।
उपनियम (२) बमोजिम बैठकबाट निष्काशित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन नपाउने व्यवस्था छ ।












