काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय र बिभिन्न बिभागहरुमा आकस्मिक अनुगमन गरेका छन् । सोमबार बिहान साढे नौ बजे मन्त्रालय पुगेका मन्त्री बस्नेतले आफ्नै मन्त्रालयमा समयमा कर्मचारी आए नआएको अनुगमन गरेका हुन् ।

सो क्रममा अधिकांश सचिवदेखि कर्मचारी समयमा नै कार्यालय नपुगेको पाइएको छ । समयमा नै कर्मचारी कार्यालय नपुगेपछि मन्त्री बस्नेतले फोन गरेर नै जानकारी लिएका थिए ।
मन्त्रालयभित्रै आकस्मिक अनुगमन गरेपछि उनी टेकुस्थित बिभिन्न बिभाग पुगेर आकस्मिक अनुगमन गरेका थिए । बिभिन्न बिभागमा पनि समयमा नै कर्मचारी नपुगेको जानकारी पाएपछि मन्त्री बस्नेतले यस बिषयमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए ।
मन्त्री बस्नेतले राम्रा कामको सुरुवात आफैबाट गर्नुपर्ने भन्दै मान्यताका साथ अघि बढेको भन्दै मातहतका कार्यालयमा पनि सुधारको काम गर्ने बताउए । उनले समयमा नै कार्यालय पुग्ने कतव्र्य राष्ट्रसेवक कर्मचारीहरुको भएकाले यस बिषयलाई कडाईका साथ लागू गर्ने धारणा राखे ।
सर्ने र नसर्ने रोगको अवस्थामा टेकु अस्पतालको ल्याव र प्रशासनले गरेको कामको पनि आफुले जानकारी लिएको भन्दै मन्त्री बस्नेतले अस्पतालको पूर्वाधारलाई पूर्ण बनाउन आफुले पहल गर्ने जिकिर गरे ।
उनले बिभिन्न महामारी फैलने बेला भएकाले रोगको प्रकृतिको अध्ययन भइरहेको अवस्थामा ठोस निष्कर्ष निस्कने गरि काम गर्नुपर्ने बताए । मन्त्री बस्नेतले समयमा नै आएर काम गर्न निर्देशन दिएको जानकारी दिए ।











