Logo
Logo

फोहोरी राजनीतिले मौलाए नयाँ दल



बारम्बार सुन्छौं, ‘राजनीति फोहोरी खेल बन्यो ।’ खासमा राजनीतिक खेल होइन । नीति निर्माण गर्ने केन्द्रविन्दु हो । बागमतीको पानी आफैँमा फोहर होइन । तर, मान्छेले फहोर बनाए । । बागमतीजस्तै राजनीतिलाई केही दल र नेताले फोहोरी बनाएको मात्र हो ।

ठूला दलहरूले देशका लागि सोचेनन्, उनीहरु सत्ताका लागि ‘नौटंकी’मात्रै गर्दै आए । पार्टी र कार्यकर्ताको प्रधानमन्त्री र मन्त्री भए । तर, जनताका प्रधानमन्त्री र मन्त्री बन्न सकेनन् । जुनसुकै शासन व्यवस्था आए पनि दलहरुले जनतालाई रैती सम्झिए, आफूलाई बिर्तावाल !

ठूला र स्थापित दलले मिलिजुली सरकार बनाइरहे । र, पालैपालो देश चुसिरह्यो । जसले गर्दा देशमा दुर्दशा थपिँदै गयो । जनस्तरमा निराशा बढेको बढ्दै गयो । तर, नेताहरू भने देश कायापलट गर्ने फतुर गफ लगाउन छाडेनन् । आफ्नै पार्टी सम्हाल्न नसक्नेहरूले देश नयाँ युगमा प्रवेश गरेको नारा घन्काए । जनतालाई उल्लू बनाउन विजुलीको पोलमा तस्बिर टाँस्नस्म्म भ्याए ।

बिरालोले दिसा लुकाएजस्तो आफूले बिगारेका छरपस्ट यथार्थहरू लुकाए । देश सप्रेको भ्रामक आँकडा गर्वका साथ प्रस्तुत गरिरहे । जनतालाई बग्रेल्ती सपना देखाए । कामको सिन्को सारेनन् । जनतालाई मूर्ख बनाउन कुनै बाँकी राखेनन् ।

राजनीति न कसैको बपौती, न त बिर्ता नै । जनता जनार्दन हुन् । जनता भनेका सार्वभौमसत्ता सम्पन्न देशका मालिक हुन् । गत मंसिर ४ को निर्वाचन र वैशाख १० को उपनिर्वाचनले त्यो प्रमाणित गरिसकेको छ । जनतालाई रैती ठान्नेहरूमाथि धारेहात लागिसक्यो ।

यदि, उनीहरूले सुशासन दिएको भए वा देशको स्थिति सुधारेको भए, स्वर्णिम अक्षरमा देखिनेगरी शासन चलाएको भए तनहुँबाट स्वर्णिमको उदय हुँदैन थियो । प्रचण्ड घाममा रुखले शीतलता दिएको भए, कठ्याँग्र्रिने जाडोमा घाम लागेको भए चितवनबाट किन झुल्किन्थे रवि ?

जनभावनाअनुसार काम नगर्दा ठूला र पुराना दलले जनताको विश्वास गुमाउँदैछन् । जसले गर्दा नयाँ पार्टीले जबरजस्त जनताका मत पाएका छन् । रास्वपाले जनताको मन जित्नुको अन्र्तय कुनै नीति र वादले होइन । ठूला दलबाट वाक्क भएकाले उनीहरुले रास्वपालाई मत दिएका हुन् ।


ठूला दलले जाने वा नजानेर जबर्जस्त रवि लामिछानेलाई राजनीतिमा धकेलिरहे । लखेट्दै लखेट्दै जनतामाझ पुर्याए । उनीहरूले रविलाई जति लखेटे, जनताले उति नै अँगाले । यसको पुष्टि उपनिर्वाचनले गर्यो ।

उपेक्षाको बदला जनताले कसरी लिन्छन् भन्ने मंसिर ४ को निर्वाचनमा देखिएको थियो । उपनिर्वाचनले थप्पड नै हान्यो । र, अहिले रवि एउटा बिम्ब बनेका छन् । रास्वपा जनतासँग नजिकिँदै छ भने ठूला भनाउँदा दलहरू टाढिँदैछ ।

ठूला दलहरुले उपनिर्वाचनमा आफ्नो भएभरको शक्ति लगाएकै हो । तर, उपलब्धि होइन क्षति क्षति मात्र बेहोरे । हेलिकप्टरमा लावालस्कर लगाएर गरिएका चुनावीसभा व्यर्थ बन्यो । चोर–चोर मिलेर ठूलो स्वर गरौँ, राजनीतिमा सिन्डिकेट गरौँ अनि मिलिजुली खाऔँ भन्ने प्रवृत्तिले डेरा जमाएको थियो । जनताको केही लाग्दैन, केही चल्दैन भन्नेहरूलाई यसपटक राम्रै चड्कन दिएको छ । पकड दलको होइन, जनताको हुन्छ भन्ने प्रमाणित गरिदिए ।

अब, उखान टुक्काले ढुक्क हुने दिन गए । देश स्विट्जरल्याण्ड होइन, नेपाल बन्नुपर्छ भन्न थाले । बीपी कोइराला, मदन भण्डारी र जनयुद्धको ब्याजको स्याज र ल्याज खोज्नेहरूलाई जनताले लोप्पा ख्वाइदिए !

उपनिर्वाचनका तनहुँ र चितवनमा सत्तासीन गठबन्धन पछारिनुका कारण थुप्रै होलान् । तर मूल कारण ठूला दलप्रति स्थानीय जनताको अविश्वास नै हो । नेताहरुले जनतालाई बारम्बार दिएको धोकाको बदला हो ।

विकास होइन, पदमात्र बाँड्ने काम जनतालाई स्वीकार्य छैन । श्रीमती, छोराछोरी, बुहारी, भान्जाभान्जी, सालासाली, गर्लफ्रेन्ड, बिचौलिया, तस्कर, व्यापारी, भ्रष्टाचारी, माफियालाई पद बाँडेको रमिताले जनता अघाइसके ।

एकै जनालाई सात/सात पटक प्रधानमन्त्री बनाउनु जनतालाई अब छैन । नयाँपुस्ताले त सुन्नसमेत चाहँदैनन् । अहिले युवा भाग्यमा भन्दा कर्ममा विश्वास गर्छन् । हिजोको अविकसित, अशिक्षित, पहुँच नभएको समाजका रितहरू अबको आधुनिक र शिक्षित समाजमा किमार्थ चल्दैन ।

जनताले नयाँ स्वाद खोजिरहेका छन् । ढुंगा हानेर सत्ता चलाउनेदेखि वाक्कदिक्क भइसके । पुराना दलबाट निसास्सिएका जनताले बारम्बार नयाँ विकल्प खोजिरहेका छन् । ०६४ सालमा माओवादी एउटा विकल्प थियो । त्यो बेला जनताले अहिलेका रास्वपालाई भन्दा निकै ठूलो अभिमत दिएका थिए माओवादीलाई । तर, उच्च बलिदानी र त्यागको गर्भबाट स्थापित माओवादीले आफूलाई जोगाउन सकेन ।

गणतन्त्र आएपछि जनतालाई लागेको थियो– सामाजिक र आर्थिक अवस्थामा बदलाव आउँछ । तर, यो आशा विश्वासमा परिणत हुन सकेन । आशामा खिया लाग्यो । दलहरूप्रति निराशा छछल्कियो । र, पोखिन थाल्यो । उपनिर्वाचन यसैको एउटा किमार्थ उदाहरण हो । गहिरो राजनीतिशास्त्र पढ्नै पर्दैन ।

अब जनतालाई दलको दास बन्नु छैन । दल र नेतालाई जाँचेर, बुझेर पुरस्कार र दण्ड दिन थालेका छन् । लोकतन्त्रको सुन्दरता पनि यही हो । अब ठूला दल सुध्रने वा सकिने स्थितिमा पुग्दैछन् । उपनिर्वाचनको नतिजाले कांग्रेस, एमाले, माओवादीलगायतका स्थापित दलहरूप्रति चरम वितृष्णा देखाउँछ ।

रास्वपाले नेपाली कांग्रेस, एमाले र माओवादीको भुँई तहमा ढ्याँग्रो बजाइसक्यो । उपर तहमा पनि भयावित स्थिति छ । सुध्रिनबाहेक अर्को विकल्प नभएको उनीहरूले ठहर गर्दैछन् । तर, कतिसम्म विरहलाग्दो स्थिति छ भने उनीहरू न सुध्रिन सक्छन्, न त जनताको विद्रोहलाई रोक्नै ।

रास्वपा र रविको लक्ष्य, नीति, योजना, कार्यक्रम, रणनीति, कार्यनीति के हो स्पष्ट छैन । सोही कुरालाई लिएर स्थापित दलहरुले रास्वपालाई किन पत्याउने ? प्रश्न गरिरहेका छन् । यतिसम्म कि रास्वपालाई उनीहरुले ‘खहरे खोला’को संज्ञा दिँदै आएका छन् ।

रास्वपालाई नपत्याउन छुट छ, तर जनताले पत्याइसके । जनताले सिद्धान्त र वाद खोजेको होइन । सुशासन खोजेका हुन् । रोजगारी खोजेका हुन् । स्वच्छ खानेपानी खोजेका हुन् । शिक्षा, स्वास्थ्य खोजेका हुन् । विकास खोजेका हुन् ।

जनताले बताइरहेका छन्– बाटो त्यो होइन । गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा पनि जनताले नेतालाई बाटो देखाएकै हो । तर, त्यो बाटो हेर्नै चाहेनन् । सत्ता र शक्तिको चस्मा खोल्दै खोलेनन् ।

रवि र रास्वपाका पछि लाग्नेलाई ‘मूर्ख’ र ‘भेडा’ भन्दै टिप्पणी गरिरहेका छन् । तर, पञ्चायत ढल्दा होस् वा गणतन्त्र आउँदा आम जनतामा देखिएको उत्साह त्यस्तै थियो । ती जनता परिवर्तनका संवाहक भए । अनि, आज अवस्थाको ताजगी खोजिरहेका जनताचाहिँ कसरी ‘मूर्खहरूको भीड’ बन्यो ?

ठूला दलबाट हैरानी भएका जनताले रास्वपालाई नयाँ विकल्पको रुपमा लिएका छन् । तर स्वयंम रास्वपा कति सम्हालिन सक्छ र कति परिपक्व बन्छ ? त्यो महत्वपूर्ण विषय हो । रास्वपा सम्हालिएर अघि बढ्यो भने जनताबाट अझ बढी विशवस र हौसला पाउने छ ।

जनताको आशालाई निरासामा बदलिन समय लाग्दैन । रास्वपाका लागि यो प्रशिक्षणको समय हो । त्यसैले ठूला दलहरुले गरेका गल्तीलाई पाठका रुपम मनन गरेर देश र जनतामुखी बन्न सके अर्को निर्वाचनमा रास्वपा ठूला दलका लागि थप चुनौती बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्