Logo
Logo

मर्यादा नाघेका संसदीय घटना- तोडफोडदेखि मन्त्रीलाई थप्पडसम्म


882
Shares

काठमाडौं– संसद नेपालको सर्वोच्च व्यवस्थापकीय निकाय हो । जहाँ जनताले चुनेर पठाएका प्रतिनिधिले जनताकै विषय उठाउने गर्छन् । संसदीय व्यवस्थामा संसद्को निकै ठूलो महत्व र गरिमा छ । तर, एकाध सांसदका हर्कतले संसद्को गरिमालाई नै धुलिसात् पारेका उदाहरण पनि छन् ।

हिजो सोमबार पनि यस्तै भयो । बजेट अधिवेशन अन्तर्गत बिहान ११ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बोलाइएको थियो ।
करिब २५ मिनेट ढिलो सुरु भएको बैठक सभामुखले अघि बढाउन सकेनन् । कारण– दुईजना सांसद प्रेम सुवाल र अमरेशकुमार सिंह बोल्ने समय माग गर्दै उठिहाले ।

कुनै पनि सांसद उठेको अवस्थामा संसद् बैठक अघि बढाउन मिल्दैन । त्यसो त आकस्मिक समयमा बोल्न प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले पनि समय माग गरेका थिए । तर प्रि बजेटका विषयमा छलफल गर्नुपर्ने भएकाले शून्य समयबाहेक आकस्मिक समय नदिने बैठकअघि नै तय भएको थियो ।

बैठकको सुरुवातमै उठेका सांसद सिंहलाई सभामुखले बस्न आग्रह गरे । तर, बोल्न समय नदिएको भन्दै सिंहले धमाधम आफुले लगाएको कम्मर माथिको कपडा खोल्न सुरु गरे । सिंहले सुरुमा सर्ट र त्यसपछि गन्जीसमेत खोले । सभामुख घिमिरेले सुव्यवस्था कायम गर्नका लागि सदस्यले पालना गर्नुपर्ने नियमप्रति ध्यानाकर्षण गराए । तर पनि सिंह रोकिएनन् ।

उनले आफ्नै स्थानबाट समय माग गरिरहे । सभामुखले बैठकको सुव्यवस्थाका लागि नियमावलीको नियम ३० अनुसार चेतावनी दिए । चेतावनी नमाने कारबाहीका लागि बाध्य हुने बताएपछि बल्ल सिंहले कपडा लगाए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा प्रतिनिधिसभाको सुव्यवस्थामा नै प्रश्न उठ्न थालेको छ ।

यस प्रकरणमा बोल्न चाहने सांसद र आकस्मिक समय सकेसम्म कम गर्ने सभामुख देवराज घिमिरेको प्रयत्नले बैठक सञ्चालनमा अवरोध देखिएको छ । आइतबार बजेट अधिवेशनको पहिलो बैठक पनि यही प्रकरणले तातिन पुगेको थियो ।

संसद्मा अमर्यादित हर्कत भएको यो पहिलो घटना होइन । २०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरेका थिए ।

संविधानको विषयलाई लिएर २०७१ माघ ५ मा नेकपा (माओवादी केन्द्र)का सभासदले संविधानसभामा तोडफोड नै गरेका थिए । यसैगरी २०६८ मा वार्षिक बजेट पेस गर्ने क्रममा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस माओवादीकै सांसदले तोडफोड गरेका थिए ।

त्यसबेला अर्थमन्त्रीको हातबाट ब्रिफकेस खोसेर सांसदहरुले बजेट वक्तव्य नै च्यातिदिएका थिए । दुईपक्षीय घम्साघम्सीमा केही सांसदहरुको लुगासमेत च्यातिएको थियो । भिडन्तको अवस्था आउने भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङले संसद् बैठक स्थगित गरिदिएका थिए । त्यसको भोलिपल्ट अध्यादेशमार्फत बजेट ल्याइएको थियो ।

संविधानसभाको समितिमा दलित जनजाति पार्टीका सभासद विश्वेन्द्र पासवानले आफ्नो कपडा आफैँ च्यातेका थिए भने बैठक कक्षका कुर्सी उचालेर फालेका थिए । संविधानसभामा सभासद सञ्जय साहले सभा कक्षको माइक तोडेका थिए ।

यस्तै, २०५० साउन ६ गते राष्ट्रियसभामा तत्कालीन स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलमाथि सांसद गोल्छे सार्कीले हातपात गरेका थिए । विशेष समयमा मन्तव्य दिएर फर्कने क्रममा सार्कीले आफ्नै स्थानमा बसिरहेका पौडेललाई थप्पड हानेका थिए । त्यसबापत सार्कीलाई सात दिन निलम्बन गरिएको थियो ।

२०५० भदौ २१ गते सदनमा नारा नलगाउन गरेको आग्रहविपरीत रोस्ट्रम नै कब्जा गरेपछि रामेश्वर राय यादवलाई राष्ट्रियसभाको बैठक कक्षबाट निष्कासन गरिएको थियो ।

२०५३ साल भदौ २ मा प्रतिनिधिसभामा बोल्ने स्थानबारे विवाद हुँदा सभामुख रामचन्द्र पौडेलले सांसद हृयदेश त्रिपाठीलाई बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए । रोस्ट्रम प्रयोगको अनुमति नपाएपछि रोस्ट्रमअघि गएर उभिएका त्रिपाठीलाई अभद्र व्यवहारको कारबाही गरिएको थियो ।

२०६८ साल असार ५ गते संविधानसभा सदस्यहरु विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी, बुद्धरत्न मानन्धर र सदरुल मियाँ हकले रोस्ट्रममा जान लागेका स्थानीय विकासमन्त्रीलाई रोकेका थिए । त्यसबापत सभामुख सुवास नेम्वाङले उनीहरुलाई बैठक कक्षबाट निकाल्न निर्देशन दिनुका साथै सात दिनका लागि निलम्बन गरेका थिए ।

२०६८ भदौ ८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू कुन्तीकुमारी शाही, चन्द्रबहादुर गुरुङ, बबिना मोक्तान लावती र रामनारायण सिंह एक दिनका लागि निलम्बनमा परेका थिए । बैठक कक्षमा नारा लगाइरहेका उनीहरूलाई बाहिर जान आदेश भएको थियो तर नगएपछि मर्यादापालकको सहयोगमा निष्कासन गरिएको थियो ।

त्यही समयमा सदनका माइक तोडफोड गर्ने सांसद सञ्जयकुमार साह पनि कारबाहीमा परेका थिए । संसदीय व्यवस्थामा संसद्को निकै ठूलो महत्व र गरिमा हुने भएपनि केहि सांसदका उच्छृङ्खल गतिविधिले संसदको गरिमालाई नै धुलिसात् पार्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्