
काठमाडौं । टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।
आइतबार राष्ट्रियसभा सदस्य रायमाझीले एमाले सचिव रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘झड्केलो छोरो’ भन्ने अभिव्यक्ति दिएका थिए ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका टोपबहादुर पक्राउ पुर्जी जारी भएपछि फरार छन् । यस विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले असंसदीय भाषा प्रयोग गरेका थिए ।
सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको थियो । एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले पुनः सुन्ने र निर्णय लिने बताएका थिए ।
मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको असंसदीय शब्द संसदीय रेकर्डबाट डिलिट गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।
साथसाथै अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभामा बोल्दा नियमावली अनुसार शिष्ट र मर्यादित शब्दहरुको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।











