
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगको डाटा रिकभर नगर्ने कर्मचारीलाई कारबाही गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले हराएको डाटा रिकर नगरी लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेको भन्दै आपत्ति जनाका हुन् । लोकसेवामा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क हराएको आयोगले जानकारी दिएको थियो ।
‘२१ औ शताब्दीमा विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डाटा सुरक्षित राख्न सकिरहेको छैन । सभामुख महोदय, किन हाम्रो सरकारसँग ब्याकअप सिस्टम छैन ?,’ उनले प्रश्न गर्दै भने, ‘लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आफू सँग भएको डाटा ब्याकअप पनि नहुनु ? अन्तिममा आएर पुनः फारम भर्न लगाउने, कति सम्मको लापरबाही हो यो ?’
सांसद डाँगीले नेपालका अधिकांश युवाहरू विदेशिएको र खाडीमा रगत पसिना बगाउन बाध्य रहेको उल्लेख गर्दै केहिले स्वदेशमै भविष्य खोजिरहेकाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरूत्साहन गरिरहेको आरोप लगाए ।














