Logo
Logo

टोपबहादुरलाई एमालेकै संरक्षण, कारबाही गर्दै नगर्ने अडान


7.7k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीलाई निलम्बन गर्न नेकपा एमालेलाई चौतर्फी दबाब छ ।

सडकदेखि सदनसम्मै शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव रायमाझीलाई पार्टीबाट निलम्बन गर्नुपर्ने आवज उठिरहेको छ । रायमाझीलाई एमालेले नै लुकाएर राखेको आरोप पनि लाग्दै आएको छ । तर, चौतर्फी दबाब आएपनि एमालेले भने रायमाझीलाई संरक्षण दिइरहेको छ ।

आज (मंगलबार) बसेको एमालेको सचिवालय बैठकमा पनि रायमाझीलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो । रायमाझी लुकाएको आरोप चिर्न पनि उनलाई पार्टीबाट निलम्बन गर्नुपर्ने केही नेताहरूले धारणा राखेका थिए । तर, अध्यक्ष ओलीले रायमाझी दोषी ठहर नभएकाले कारबाही गर्न हतार गर्न नहुने भन्दै उनको बचाउँ गरेका थिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङले रायमाझीको विषयमा कुरा नै नभएको भन्दै टारे । रायमाझीलाई निष्कासित गर्नसक्ने विषयमा पत्रकारले प्रश्न गर्दा गुरुङले उल्टै पत्रकारलाई नै प्रश्न गरे ।

पत्रकारले गम्भीर आपराधिक घटनामा मुछिएकाले कुनै कारबाही भयो कि ? भनेर सोधेका थिए । त्यसको जवाफमा गुरुङले ओलीकै भाष बोलिदिए– ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको छ र ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नै उनलाई जोगाउन ओलीले दौडधुप गरिरहेका छन् । गत बुधबार रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पटकपटक भेटेर रायमाझीलाई जोगाउन हारगुहार गरेका छन् ।

प्रचण्डको नाम लिन पनि मुख कुल्ला गर्ने स्थितिमा पुगेका ओली रायमाझाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रचण्डकहाँ दिनहुँजसो धाइरहेका छन् । ६ दिनको अवधिमा ओलीले प्रचण्डलाई चार पटक भेटेका छन् । भेटमा ओलीले आग्रह गर्नेदेखि धम्क्याउने र चेतावनी दिनेसम्म दिने गरेका छन् ।

रायमाझाविरुद्ध पक्राउ पुर्जी जारी भएकै भोलिपल्ट गत बिहीबार प्रधानमन्त्री प्रचण्ड भेट्न ओली प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिने क्रममा ओलीले दोषी उम्कन नहुने र निर्दोष फस्न नहुने प्रतिक्रिया दिए । तर, पटकपटक मन्त्री भइसकेका र बहालवाला सांसद रहेका रायमाझीलाई बाटो बाटैबाट समात्नुपर्ने कारण नभएको भन्दै ओली आक्रोश पोखेका थिए ।

रायमाझीबारे थप कुरा गर्न शनिबार पनि प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे । भेटपछि पत्रकारलाई नै रायमाझी खोजिदिन ओलीले आग्रह गरे । पूर्वउपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउन नपर्ने हो भनेर पत्रकारले सोधेको प्रश्नमा ओलीले भने, ‘तपाईं पत्रकारको सम्पर्कमा भए मलाई सूचना दिनुहोला । मेरो सम्पर्कमा छँदै छैनन् ।’

सोमबार पनि रायमाझीको बारे कुरा गर्न प्रचण्डकहाँ ओली पुगे । संवैधानिक परिषद्को बैठक सक्नेबित्तिकै ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटमा रायमाझीमाथि षड्यन्त्र भएको भन्दै उनलाई पक्राउ गरे अरु चार जनाको नाम सार्वजनिक गर्ने भन्दै ओलीले धम्क्याए ।

प्रचण्डसँग पटकपटक कुरा गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि सँगै राखेर ओलीले रायमाझीको विषयमा कुरा गरे । ओलीले आज प्रचण्ड र देउवालाई सँगै राखेर रायमाझीका विषयमा कुरा गरेका हुन् । भेटमा के–के कुरा भयो भन्ने खुलेको छैन ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी गृह जिल्ला अर्घाखाँची पुगका बेला उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । अर्घाखाँचीको कार्यक्रम सकेर उनी काठमाडौं हिँडेको बताइएको थियो । तर, अहिलेसम्म उनी कहाँ छन् पत्ता लाग्न सकेको छैन ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए ।

कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए । साथै कानुनलाई सहयोग गर्नेसमेत प्रतिक्रिया दिएका थिए ।

कानुनलाई सघाउँछु र ओलीलाई काठमाडौं आउँदै छु भनेका उनै रायमाझी बुधबार रातिदेखि नै फरार छन् । उनको फोनसमेत स्विच अफ रहेको छ । उनको अन्तिम लोकेसन भैरहवामा ट्रयाक भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्