
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय कार्य समितिको बैठक काठमाडौंमा बोलाएको छ । राप्रपा नेपालले आगामी जेठ ९ र १० गते जिल्ला अध्यक्षसहित केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बोलाएको हो ।
पार्टी अध्यक्ष कमल थापाले बैठकमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् भने महामन्त्रीहरू भाष्कर भद्राले सचिवालय, सुशील श्रेष्ठले प्रशिक्षण, राजाराम बर्तौलाले सङ्गठन सम्बन्धी र केशव श्रेष्ठले स्मार्ट पार्टी निर्माण सम्बन्धी प्रतिवेदन पेस गर्नेछन् ।
कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्नेछन् भने बैठकमा प्रदेश अध्यक्षहरूले प्रदेशको प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका तय गरिएको छ । जनवर्गीय सङ्गठन प्रमुखहरूले ६ महिने कार्ययोजना समेत बैठकमा प्रस्तुत गर्नेछन् ।
त्यस्तै बैठकमा संघीयताको नाममा जबर्जस्ती लादिएको प्रदेश खारेज गर्नुपर्ने विषय पनि महत्त्वका साथ उठ्ने सम्भावना छ ।
त्यस्तै बैठकमा पार्टीको नाम, चुनाव चिह्न परिवर्तन गर्ने विषयमा पनि छलफल हुने बुझीएको छ ।











