Logo
Logo

खाण पक्राउपछि कांग्रेस नेताहरुको प्रतिक्रिया- पार्टीले अनुसन्धानमा सघाउनुपर्छ


22.5k
Shares

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेस नेताहरूले निष्पक्ष छानविनका लागि पार्टीले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

बुधबार बिहान प्रहरीले काठमाडौंको चावहिलबाट खाणलाई पक्राउ गरेपछि शेखर कोइराला, प्रदीप पौडेल, रामहरि खतिवडा, महेन्द्र यादव लगायतले निष्पक्ष छानविनका लागि पार्टीले सहयोग गर्ने बताएका हुन् ।

कांग्रेस नेता डा शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताए । बुधबार बिहान विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै कोइरालाले दोषीले सजाय पाउनुपर्ने बताएका हुन् । ‘जो–जो दोषी हो, उनीहरूलाई कारबाही हुनपर्छ, यसमा इफ र बटको कुरै छैन । उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन,’ उनले भने ।

यस्तै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले कांग्रेसले निष्पक्ष छानबिनका लागि सहयोग रहने बताए । उनले भने, ‘प्रहरीले अनुसन्धान गर्दै छ । अदालतले एउटा फैसला गर्ला । हामी निष्पक्ष छानबिनको पक्षमा छौँ ।’

यता कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले दोषीलाई उम्काउने खेलमा पार्टी नलाग्ने बताए । ‘यो हाम्रो मात्र चासोको विषय होइन । राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय हुन्छ । हामीले निष्पक्ष छानबिनका लागि अनुरोध गर्नुपर्छ,’ उनी भन्छन्, ‘निर्दोषलाई फसाउने होइन र दोषीलाई बचाउने होइन भन्ने हाम्रो कुरा रहन्छ । दोषीलाई उम्काउने खेलमा कांग्रेस लाग्दैन ।’

खाण पक्राउ परेपछि युवा नेता प्रदीप पौडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसले अनुसन्धानमा सघाउनुपर्ने बताए ।
त्यस्तै ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिन र अनुसन्धानलाई नेपाली कांग्रेसले पूर्ण रूपमा सहयोग गर्नुपर्छ । कोही कसैले वा कहीं कतैबाट प्रभावित गर्ने काम हुनुहुँदैन । प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने वा चोख्याउने काम नहोस्,’ उनले भने ।

सांसद पौडेलले कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन हुनुपर्ने बताएका छन् । ‘को कुन पार्टीमा छ, को सँग कसको के सम्बन्ध छ भन्ने कुनै पनि नातावाद र कृपावादमा नपरी छानबिन होस् । अत्यन्तै गम्भीर भएर छानबिन गरी दोषी सबैलाई कानुनी कठघरामा ल्याइयोस् । अनुसन्धान प्रकियामा निष्पक्ष भएर दृढतापूर्वक सरकार अगाडि बढोस्,’ उनले भने ।

खाणलाई पक्राउ गरिएलगत्तै अपराध महाशाखा नयाँ बानेश्वर लगिएको थियो । त्यहाँ सामान्य सोधपुछपछि अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौमा राखिएको छ । शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्