काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने प्रकृतिले आर्थिक अनियमिता मात्रै नभएर मानव तस्करी र देशघाती भएको जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका गिरोहमाथि सरकारले कारबाही प्रक्रिया सुरु गरेपछि एकीकृत साजवादीले यस्तो धारणा सार्वजनिक गरेको हो ।

बुधबार केन्द्रीय सचिवालयको बैठकपछि एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि सरकारले कारबाहीको प्रक्रिया शुरु गरेको छ । अहिले त्यस काण्डका एकपछि अर्को रहस्य सतहमा आउँदै छन् । उच्च तहका राजनीतिक र प्रशासनिक अधिकारीहरु यसको घेरामा पर्दै गएका छन् । घटनाको प्रकृतिले यो आर्थिक अनियमिता मात्रै नभएर मानव तस्करी र देशघातीसमेत हो भन्ने छर्लङ्ग छ ।’
साथै, शक्ति आडमा कुनैपनि बहानामा दबाब वा प्रभावबाट अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नदिन र सबै दोषीमाथि कार्यवाही गर्न समेत एकीकृत समाजवादीले सरकारसँग माग गरेको छ ।
महासचिव घनश्याम भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि शक्तिले कुनैपनि बहाना पार्ने, कुनै पनि दबाब वा प्रभावबाट यो काण्डको अनुसन्धान र कार्यवाही प्रक्रिया कमजोर हुन नजाओस् र सबै दोषीमाथि कार्यवाही गर्न सरकार दृढतापूर्वक अघि बढोस् भन्ने कुरामा हाम्रो पार्टी जोड दिन्छ । दबाइएका अन्य घटनाहरुमा पनि यसैगरी छानबिन अगाडि बढाउन हाम्रो पार्टी माग गर्छ ।’
साथै, एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमाथि अनुसन्धान र कार्यवाही प्रक्रियालाई सतर्कतापूर्वक हेर्न र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न पार्टी पंक्ति र जनसंगठनहरुलाई आह्वानसमेत रहेको छ ।











