काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली शरणार्थी प्रकरणले नेताहरुको भ्रष्ट अनुहार छर्लङ्ग भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रम बोल्दै अध्यक्ष नेपालले यो प्रकरणले नेताहरू कति भ्रष्ट रहेछन् भन्नेसमेत देखाएको बताए ।

निर्मल लामा स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डका फाइलहरू खुल्न थालेका छन् । यो प्रकरणले हामी सबैलाई अत्यन्तै दुखित बनाउँछ । नेताहरू कतिसम्म भ्रष्ट भएका रहेछन् भन्ने यो प्रकरणले देखाएको छ । मानव तस्करी गर्ने काममा नै नेताहरूले अगुवाइ गरेका रहेछन् ।’
नक्कली भुटानी शरणार्थी प्रकरणसहित भ्रष्टाचारको कुनै पनि प्रकरणमा कारबाही गर्न गृहमन्त्रीले खुट्टा नकमाउन उनले आग्रह गरे । अध्यक्ष नेपालले भने, ‘जोसुकै व्यक्ति जोडिएका छन् भने त्यसलाई बाँकी नराख्नुस् ।’











