काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसमा तरंग पैदा भएको छ । पार्टीको केन्द्रीय सदस्य खाँण पक्राउ परेकामा कांग्रेसका एक समूह उनलाई बचाउन दौडधुप गरिरहेको छ भने अर्को समूह कारबाही गर्नैपर्ने पक्षमा उभिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा समूह खाँण पक्राउ परेकामा दुःखी छ । खाँणलाई बचाउन देउवा खुलेरै लागेका छन् । उनी खाँणलाई जोगाउन दौडधुप गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिइरहेका छन् ।
खाँण पक्राउ परेलगत्तै देउवाले आफू निकटका केही नेतासँग छलफल गरेका थिए । उनले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतसँग छलफल गरेका थिए ।
सभापति देउवाले छलफलमा बोलाएका नेतामध्ये खड्काबाहेक अरु खाँण निकटका व्यक्ति हुन् । खाँण देउवाका विश्वास पात्र मानिन्छन् । सभापति देउवासँग उनीहरूसँग दुई घण्टा बढी धुम्बाराहीमा छलफल गरेका थिए ।
उक्त छलफल पछि देउवाले प्रधानमन्त्री प्रचण्डलाई समेत भेटे । उक्त भेटमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए । छलफलमा देउवा र ओलीले राजनीतिक प्रतिशोधका आधारमा सरकारले कदम चाल्न नहुनेसमेत चेतावनी दिएका थिए । प्रचण्ड र ओलीसँग छलफल गरेपछि उनले पार्टीका शीर्ष नेताहरूसँग पनि छलफल गरे ।
खाँणलाई बचाउन देउवाले दौडधुप गरिरहेका बेला यता केही कांग्रेसका नेता कार्यकर्ताले भने खुशी साटिरहेका छन् । उनीहरूले सामाजिक सञ्जालमा ‘जे भयो ठिक भयो, गज्जब भयो’ भन्दै खुशी व्यक्त गरेका छन् । खाँण पक्राउ पर्दा खुशी हुने भनेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निकट नेताकार्यकर्ता हुन् ।
खाँण पक्राउ परेपछि महामन्त्रीद्वय निकट कांग्रेस नेताहरू डा. गोबिन्दराज पोखरेल, गुरु घिमिरे, मधु आचार्य लगायतका नेताहरूले गृह मन्त्रालय पुगेर सरकारले चालेको कदमप्रति ऐक्यवद्धता नै जनाए । उनीहरूले अहिलेसम्म भएको प्रयासमा ऐक्यवद्धता जनाउँदै बीचैमा नतुहियोस् भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खबरदारी गरेका छन् ।
खाँणलाई बचाउन देउवाले मरिहत्ते गरिरहँदा महामन्त्रीद्वय निकटहरूले सरकारले चालेको कदमप्रति ऐक्यबद्धता किन जनाए ? खुशी किन साटिरहेका छन् ? यसको एउटै मात्र कारण हो– कांग्रेसभित्र चलिरहेको पार्टी रूपान्तरणको विद्रोह ।
महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा पार्टी रूपान्तरणको विद्रोहको संघर्ष चलिरहेको छ । उनीहरु देशव्यापी रुपमा संघर्षका कार्यक्रम कसरी संकलन गर्ने र त्यसको माहोल कसरी निर्माण गर्ने भनेर काम गरिरहेका छन् । महामन्त्री थापाले गत आइतबार ‘अब त अत्ति भयो’ भन्ने धारणा सामाजिक सञ्जालमै लेखेर देउवाविरूद्ध आक्रोश पोखेका थिए ।
देउवालाई राजीनामा र संघर्षको धम्की दिएका महामन्त्रीद्वयले संघर्षदेखि विद्रोहसम्मको रणनीति बनाइरहेका छन् । उनीहरुले संघर्षको रणनीति कस्तो बनाउने र कस्ता कार्यक्रम लिएर कार्यकर्तामा जाने भनेर रणनीति निर्माण गरिरहेका छन् ।
पूर्वगृहमन्त्री खाँण पक्राउ परेपछि यसमा महामन्त्रीद्वयलाई केही राहत पुग्ने देखिन्छ । पार्टी रूपान्तरणमा केही सहज हुने महामन्त्रीद्वय निकटहरूको बुझाइ छ । देउवानिकट अरु नेताहरू पनि यो प्रकरणमा तानिए देउवा कमजोर हुने र आफूहरूलाई सहज हुने उनीहरूले बुझेका छन् ।
त्यसैले ‘जे भयो गज्जब भयो’ भनिरहेका छन् । सरकारले चालेको कदमप्रति ऐक्यवद्धता जनाइरहेका छन् । देउवानिकट अरु नेता पनि यो प्रकरणमा तानिने आशामा ‘बीचैमा नतुहियोस्’ भन्दै गृहमन्त्रीलाई खबरदारी गरिरहेका छन् ।
कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खाँण नक्कली शरणार्थी प्रकरणमा बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ परेका थिए । खाँणलाई अनुसन्धानका लागि चार दिन थुनामा अदालतले अनुमति दिएको छ ।











