
काठमाडौं । सरकारले कामकाजी महिलालाई सुत्केरी बिदा ६ महिना दिने तयारी गरेको छ । हाल महिलाले सुत्केरी बिदा ९८ दिन पाँउदै आएका छन् ।
नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएपछि कामकाजी महिलाका लागि बढाएर सुत्केरी बिदा ६ महिना दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको संख्या क्रमशः घट्दै गएको निष्कर्षसहित थप तीन महिना बिदा दिन मन्त्रालयलाई सिफारिस गरेको थियो । सोही अनुसार स्वास्थ्यले कानुन मन्त्रालयमा मस्यौदा पठाइसकेको छ ।
अब कानुन मन्त्रालयले पास गरेपछि मन्त्रिपरिषद्को स्वीकृति हुँदै संसदबाट पारित भएर संशोधित ऐन कार्यान्वयन भएपछि सुत्केरी बिदा ९८ दिनबाट बढेर ६ महिना पुग्ने छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ का अनुसार शिशु जन्मिएदेखि पाँच महिनासम्म स्तनपान गराउने आमा ५६ प्रतिशत मात्र छन् । ४४ प्रतिशत आमाले फर्मुला (कृत्रिम) वा गाईभैँसीको दूध खुवाउँछन् ।
बालबालिकालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउनु पर्छ भनेर धेरै आमालाई थाहा हुँदाहुँदै पनि तीन महिनापछि जागिरमा फर्किनु पर्ने भएकाले फर्मुला दूध खुवाउन बाध्य छन् ।











