Logo
Logo

नेपाल एयरलाइन्सको २ वटा जहाज किन्ने प्रक्रिया अघि बढ्यो


3k
Shares

काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी) ले २ वटा जहाज किन्ने प्रक्रिया अघि बढाएको छ । जहाज खरिदका लागि गठित अध्ययन उपसमितिले तयार गरेको प्रतिवेदन वायुसेवा सञ्चालक समितिलाई बुझाएसँगै निगमले जहाज खरिदको थप प्रक्रिया अघि बढाएको हो ।

वैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ क्याप्टेन सुधीर शमशेर राईको संयोजकत्वमा ९ सदस्यीय जहाज उपसमिति गठन गरेको थियो ।

उक्त समितिले २१ दिनभित्र थप अध्ययन गरी बोर्डमा प्रतिवेदन पेस गर्नेछ । यसपछि भने जहाज खरिद प्रक्रियाले औपचारिकता पाउने निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

निगमले नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले सहरी क्षेत्रका एयरपोर्ट (ट्रङ्क रुट) मा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाएको छ ।

निगमले दुई वटा जहाज खरिद गरेपश्चात् काठमाडौँ, विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज, धनगढी लगायत नेपालका सहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्ने योजना बनाएको छ ।

यी जहाजहरू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी नियमानुसार पारदर्शी रूपले खरिद गरिने वायुसेवा निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्