काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नमिल्ने बताएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उनको भनाई छ ।
अध्यक्ष ओलीले भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताए । अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उनले बताए ।
भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आफू आश्चर्यचकित भएको उनले बताए । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरे ।
ओलीले भने, ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’
उनले थपे, ‘खास सोझै पैसा समाउनेहरु, पैसा बुझ्नेहरु छोड्ने अनि टोपबहादुरलाई पक्राउ पुर्जी जारी गर्ने किन गर्यो होला ? त्यसभित्र केही त नभएको होइन होला नि ? किन त्यसप्रकारको व्यवहार गरियो ?’
तर, आफूले टोपबहादुर यसरी सम्पर्कविहीन होलान् भनेर आफूले नसोचेको ओलीको भनाई थियो । ‘मैले के सोचेको थिइनँ भने टोपबहादुरजी बाहिर त्यसरी जानुहुन्छ । पछि पो मैले सुनें प्रहरीले अभद्र व्यवहार गर्न खोज्यो त्यसकारण अदालतमै उपस्थित हुने विचार गरें भनेर उहाँले भन्नुभयो भन्ने मैले सुनें ।’
टोपबहादुरले सुरुमा अनुसन्धानमा सहयोग गर्छु भनेको तर त्यसअनुसार व्यवहार नभएकाले उनलाई अनुसन्धानमा सहयोग गर्न भनिएको ओलीको भनाई छ ।
ओलीले उनी निकटका मान्छेले आफूलाई फोन गर्दा आफूले प्रहरीमा उपस्थित भएर सामना गर्नुस् र अनुसन्धानमा सहयोग गर्नुस् भनेको बताए ।











