काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझी अध्यक्ष केपी शर्मा ओलीसँग सम्पर्कमा रहेको खुलेको छ ।
आज (बिहीबार)देखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूले टोपबहादुरलाई प्रहरीकहाँ हाजिर हुनु भनेर सुझाव दिएको ओलीले बताए । टोपबहादुरलाई बुधबार प्रहरीकहाँ जानु भनेको तर उनी नआएको ओलीको भनाइ थियो ।

ओलीले भने, ‘मलाई उहाँ (टोपबहादुर) निकटका मानिसले फोन गरेका थिए– के गर्ने भनेर, मैले प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ । उहाँ हिजो प्रहरीकोमा आउने कुरा सरकारी स्रोतबाट पनि सुनेको थिएँ तर उहाँ आउनु भएन ।’ ओलीको उक्त भनाइले टोपबहादुर ओलीसँग सम्पकमै रहेको बुझिन्छ ।
ओलीले यो प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझीको नाम जोडिँदा आश्चर्यचकित परेको बताए । ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्च चकित भयौं ।’
टोपबहादुरलाई एमालेले नै लुकाएर राखेको आरोप पनि लाग्दै आएको छ । गत २० गते पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका छन् । फरार रहेका टोपबहादुरले बुधबार भने आफू बिरामी भएको भन्दै संसद् सचिवालयलाई पत्र पठाएका थिए ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि टोपबहादुरले ओलीलाई फोन गरेर सुझाव मागेका थिए । त्यसबेला उनले ओलीलाई आफू काठमाडौं आउन लागेको बताएका थिए ।
ओलीलाई ‘काठमाडौं आउँदै छु’ भनेका टोपबहादुर कहाँ गए भन्ने अहिलेसम्म खुलेको छैन । गत २० गते पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजी तीव्र पारेपनि भेटाउन सकेको छैन ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी हुँदै गर्दा रायमाझी अर्घाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका थिए ।
कार्यक्रमपछि सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै यस घट्नामा आफ्नो पनि नाम जोडिएकोप्रति अचम्ममा परेको उनले बताएका थिए । साथै कानुनलाई सहयोग गर्नेसमेत प्रतिक्रिया दिएका थिए ।
कानुनलाई सघाउँछु र ओलीलाई काठमाडौं आउँदै छु भनेका उनै रायमाझी गत २० गते रातिदेखि नै फरार छन् ।











