काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी लोकरिझ्याइँमा आधारित पार्टी भएको निष्कर्ष निकालेको छ । बिहीबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपा पपुलिष्ट भएको उल्लेख गरिएको छ । गत निर्वाचनमा युवा मतदाता, सहरी जनमत र प्रवासी नेपालीहरूमा पपुलिज्मले प्रभाव पारेको एमालेको निष्कर्ष छ ।

‘गठबन्धनमा रहेका दलहरूका कारण बढेको चरम राजनीतिक विकृति, आर्थिक र व्यवासायिक क्षेत्रमा देखा परेका संकट, उत्पादन र रोजगारीको क्षेत्र साँघुरिँदै गरेको अवस्था तथा सेवा प्रवाहमा गम्भीर विचलनका कारण समाजमा निराश बढेको छ,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘२०६२/०६३ को परिवर्तन र नेपालको संविधान जारी भएपछि समाजमा देखापरेका आशा र उत्साहलाई यी गतिविधिहरूले ठूलो धक्का दिएका छन् । यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई पपुलिज्मले एजेण्डाका रूपमा राम्रैसँग उपयोग गर्न सुफल भयो ।’
पपुलिज्मले मौजुदा समस्या उजागर गर्न सक्ने, प्रश्न खडा गर्न पनि सक्ने तर समाधान भने दिन नसक्ने उनले उल्लेख गरेका छन् । प्रतिवेदनमा भनिएको छ, ‘सही दर्शन र विचारधारा नभएको अर्थ(राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने यस्तो शक्ति मुलुकको सही राजनीति विकल्प भने हुन सक्दैन ।’











