काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
आज (बिहीबार) पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले चुनावअघि र पछिका घटनाक्रमको समीक्षा गर्दै राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । उनले आफ्नो प्रतिवेदनमा अन्य राजनीतिक दलहरूमाथि आरोपै आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले माओवादी केन्द्रको राजनीतिक बेइमानी, अस्थिरता र अवसरवादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको निचोड प्रस्तुत गरेका छन् । माओवादी केन्द्र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको समेत उनको आरोप छ ।
नयाँ सहकार्यलाई भत्काएर फेरि पुरानै गठबन्धन स्थापित गर्ने, नेपाललाई अन्त्यहीन अस्थिरतातर्फ धकेल्न चाहने एवं मुलुकलाई शक्ति राष्ट्रहरूको स्वार्थको क्रिडास्थल बनाउन प्रयासरत विभिन्न शक्ति केन्द्रको चलखेल बढेको ओलीको दाबी छ ।
पुस २६ गते कांग्रेसबाट समेत विश्वासको मत प्राप्त गरिसकेपछि प्रधानमन्त्रीले बोली फेर्न थालेको उनले आरोप छ । माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्र पुरानै भएको ओलीको आरोप छ ।
माओवादी केन्द्र नै राजनीतिक अस्थिरताको मुख्य कारक बन्न पुगेको भन्दै प्रतिवेदनमा संसदीय अङ्कगणितमा प्राप्त आफ्नो सङ्ख्यालाई सत्ताको सौदाबाजीलाई निम्ति प्रयोग गर्ने उसको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको उल्लेख छ । उनले गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको टिप्पणी पनि गरेका छन् ।
‘पछिल्लो समय बिना कुनै सैद्धान्तिक या नीतिगत आधार जो कसैसँग गठबन्धन गर्ने, निर्वाचनमा जसरी पनि जित्नका लागि जो कसैसँग गठबन्धन बनाउने, जस्तासुकै कुकर्म गर्ने र गठबन्धनलाई अनुत्तरदायी, दोहनकारी र अलोकतान्त्रिक शासनको हतियार बनाउने क्रम बढेको छ,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
उनले अहिले सत्ता गठबन्धनले स्थापित संस्थाहरूप्रति प्रहारलाई निरन्तर जारी राखेको उनले आरोप समेत लगाएका छन् ।
प्रतिवेदनमा भनिएको छ– ‘…राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन राष्ट्रपतिमाथि बारम्बार गरिएको प्रहार होस् या नेपाल राष्ट्र ब्याङ्कजस्ता स्वायत्त संस्थामाथिको हस्तक्षेप, यो गठबन्धन राज्यका सबै अङ्गलाई भयदोहन गरेर आफ्नो स्वार्थपूर्तिका साधन बनाउन चाहन्छ र त्यसो हुन तयार नहुनेहरूलाई कमजोर र क्षतविक्षत बनाउन चाहन्छ भन्ने स्पष्ट देखिन्छ ।’
गत पुस १० गते निर्माण भएको राजनीतिक समीकरणलाई ‘नयाँ कोर्स निर्माणको प्रयास’ का रूपमा व्याख्या गरेका छन् ।
‘निर्वाचनपछिको तरल अवस्थाका बीचबाट मुलुकलाई राजनीतिक स्थिरता, अग्रगमन र समृद्धिको दिशामा लैजानसमेत पहल गर्दै पार्टीले २०७९ पुस १० गते नयाँ राजनीतिक सहकार्यको आधार निर्माण गर्याे,’ अध्यक्ष ओलीले प्रतिवेदनमा भनेका छन्, ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सात दलको त्यो सहकार्य सकारात्मक थियो र जनचाहना अनुरूपको थियो ।’











