Logo
Logo

मानव तस्करीमा ‘हाईप्रोफाइल कनेक्सन’, १२ जना हिरासतमा, फरार खोज्दै प्रहरी



काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरिसकेको छ । बुधबार पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेसँगै प्रहरीले यो प्रकरणमा हालसम्म १२ जनालाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले रामशरण केसी, गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ भने अन्य व्यक्तिलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीका अनुसार उक्त ठगी धन्दामा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई पक्राउ गरिएको हो । पूर्वगृहमन्त्री खाँणलाई जिल्ला आदालले तीन दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । अदालतले बुधबार नै जिल्ला प्रहरी परिसर काठमाडौँलाई तीन दिनको म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यो प्रकरणमा पहिलो चरण काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुल्न आएका आरोपितहरुमध्ये मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंककुमार गुरुङलाई १२ चैत्रमा पक्राउ गरिएको थियो ।
त्यसपछि २०७९ चैत्र १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका-१० का पूर्व वडाअध्यक्ष सागर राईलाई पक्राउ गरिएको थियो । आरोपितमध्ये भागेर भारत पुगेका दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाउन प्रहरी सफल भएको थियो । भारतको पन्जाबमा लुकेरको बसिरहेका शर्मालाई चैत २९ गते नेपाल-भारत सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो ।

ती पक्राउ गरिएकाहरुलाई संगठित ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दैगर्दा बैशाख १९ गते तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई पक्राउ परेका थिए । त्यसपछि वैशाख २० गते गृहमन्त्रालयका तत्कालीन सचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेक नारायण पाण्डे सोही प्रकरणमा पक्राउ परे भने सोही दिन एमाले सचिव टोबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि वैशाख २५ गते यो ठगी प्रकरणमा प्रहरीले गिरोहकै सदस्यहरू रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो । बुधबार बिहानमात्रै नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खाँण र उनका स्वकीय सचिव नरेन्द्र पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ जना पुगेको छ ।

फरार सूचीमा
अनुसन्धानको क्रममा आरोपितले बयानमा नाम लिएहरु फरार भएका छन् । यस प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव एवंम पूर्वमन्त्री टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएसँगै फरार छन् । उनलाई एक साताअघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि सम्पर्कविहीन छन् । तर, पूर्वगृहमन्त्री खाँण पक्राउ परेकै दिन बुधबार संसद सचिवालयमा रायमाझीले ईमेलमार्फत आफू विरामी भएको र उपचार गराइरहेको जानकारी गराएका थिए ।

बुधबार नै एमालेले यस प्रकरणको अनुसन्धान निष्कर्षमा नपुगिन्जेलसम्म पार्टीबाट रायमाझीलाई निलम्बन गरिसकेको छ । पार्टीले उनलाई अनुसन्धानमा सहयोग गर्न आग्रह पनि गरेको छ । तर, एमालेले भने रायमाझीलाई लुकाएको र यस प्रकरणबाट जोगाउन खोजेको जनमानसमा आरोप छ ।

यस्तै, अर्का पूर्वगुहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरुद्ध पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र यस प्रकरणको अनुसन्धानलाई सहयोग गर्ने भन्दै प्रष्टीकरण दिएका छन् । तर, प्रहरीको सम्पर्कमा आइनसकेको बताइएको छ ।

त्यस्तै, प्रहरीको फरार सूचीमा ईन्द्रजीत राईका छोरा निरज राई पनि रहेका छन् । बादल गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजीतका छोरा निरजको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ । उनी पनि प्रहरीको फरार सूचीमा छन् ।

नाम मुछिएकाहरु
नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका आरोपितलाई अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरुको नामसमेत मुछिएको छ । अनुसन्धानबाट खुल्न आएका आरोपितहरुसँग प्रहरीले सोधपुछकै क्रममा नेपाली कांग्रेसका नेतृ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी आरजु राणा देउवा र पूर्वगृहमन्त्री खाँणका पत्नी मञ्जु खाँणको नामसमेत मुछिएको छ ।

केही दिनअघि सामाजिक सञ्जालमा आरजु र मञ्जुले रकम लिएको अडियो सार्वजनिक भएपछि उनीहरु पनि यस प्रकरणमा संलग्नता भएको सार्वजनिक रुपमै आरोप लागेको छ । सार्वजनिक अडियोबारे प्रहरीले नजिकबाट अनुसन्धान गरिरहेको जनाएको छ । सार्वजनिक एक मिनेट तीन सेकेन्डको अडियोमा पीडित र नक्कली शरणार्थी खडा गर्ने गिरोहका एक सदस्यबीच कुराकानी भएको देखिन्छ । प्रहरी स्रोतका अनुसार उक्त अडियो पीडितले प्रहरीलाई जाहेरी बुझाउँदा नै बुझाएको र त्यसमा अनुसन्धान भइरहेको छ ।

साथै, प्रहरीले यस प्रकरणमा नाम जोडिएका हाईप्रोफाईलसँगै अन्य व्यक्तिहरुको खोजी गरिरहेको छ । आरजुले यस प्रकरणमा आफूलाई मुछ्न फेक अडियो बनाएको भन्दै यसबारे छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै साइबर व्यूरोमा उजुरी दिएकी छन् ।

त्यस्तै, पूर्वगृहमन्त्री खाँण पक्राउ परेको खबरसँगै ललितपुरस्थित निवासमा रहेकी मञ्जु भने मोवाइल स्विच अफ गरेर सम्पर्कविहीन भएको स्रोतको भनाई छ । पूर्वमन्त्री खाँण चाबहिलस्थित कांग्रेस नेता कान्छाराम तामाङको घरबाट पक्राउ परेका थिए । पक्राउ पर्नुअघि ठिक अगाडि उनी श्रीमतिसँग भिडियो कलमा सम्पर्क भएको दावी गरिएको छ । खाँण पक्राउ परेलगत्तै आफू पक्राउ पर्न सक्ने डरले उनी सम्पर्कविहीन भएकी हुन् ।

त्यस्तै, यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको नामसमेत मुछिएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन डकुमेन्ट बनाउने गिरोहमा संलग्न देखिएको आरोपित तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार ईन्द्रजितले बयानका क्रममा प्रेम राईको पनि नाम लिएपछि उनी पनि मुछिएको हो ।

बुधबार पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डे २०७८ साउन २७ देखि २ असोज २०७९ सम्म गृहमन्त्रालयमा सचिव थिए । उनीभन्दा अगाडि गृहसचिवमा महेश्वर न्यौपाने थिए ।

न्यौपाने २१ माघ २०७६ देखि २७ साउन २०७८ सम्म रहेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट न्यौपानेमाथि भने कुनै प्रमाण भेटिएको छैन । उनले हाल अवकास पाइसकेका छन् । न्यौपानेअघि गृहसचिवमा हालका अख्तियार प्रमुख प्रेम राई थिए । राई २७ चैत्र २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवमा थिए ।

पक्राउ परेका केही आरोपीले बयानका क्रममा संलग्नताबारे बोलेका हुन् । स्रोतका अनुसार पक्राउ परेका टेकनारायण पाण्डे र आरोपी दुई जनाबीच ह्वाट्सअपमार्फत बार्गेनिङ गरेको खुलेको छ । यद्यपि, उक्त बयानबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नक्कली भुटानी शरणर्थी प्रकरणमा मुछिएका हाईप्रोफाइललाई प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि अहिले राजनीतिबृत्त गर्माएको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने प्रकरणमा अधिकांश ठूला नेताका परिवारिक र आफन्त मुछिएका छन् ।

अहिलेसम्म प्राप्त समाचारअनुसार पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप उनकै आडमा गिरोहसँग जोडिएको भन्ने बुझिन्छ । प्रहरी अनुसन्धानले उनको नाममा करोडौंको चेक काटिएको फेला पारेको छ । पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार ईन्द्रजीतका छोरा पनि यो प्रकरणमा नाम जोडिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले यी सबै शक्ति र माध्यम परिवारकै सदस्यबाट भएको र कारोबार उनीहरुबाट नै भएको देखिन्छ ।
आफूहरुलाई नक्कली भुटानी बनाएर अमेरिका अमेरिका पुर्याउने भनेर ठगी गरेको भन्दै हालसम्म १ सय ५० जनाले प्रहरीमा उजुरी दिएका छन् । प्रहरी अनुसन्धानबाट गिरोहले उनीहरुबाट नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ ।

००

पक्राउ परेकाहरु को कहाँ ?

बुधबार पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई (काठमाडौं जिल्ला परिसर टेकुको हिरासत)मा राखिएको छ । खाँणका निजी सचिव नरेन्द्र केसीलाई भने (लैनचौर वृत्तको हिरासत)मा राखिएको छ ।

त्यस्तै, सचिव टेक नारायण पाण्डेलाई (सिंहदरबार वृत्तको हिरासत)मा राखिएको छ । एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझीलाई (टेकु परिसरको हिरासत)मा राखिएको ।

यस्तै, तत्कालीन गृहमन्त्री एवं एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राईलाई (टेकु परिसरको हिरासत)मा राखिएको छ । दाङका सन्देश शर्मालाई (दरबारमार्ग वृत्तको हिरासत)मा राखिएको छ । त्यस्तै, मोरङका केशव दुलाललाई (कालिमाटी वृत्तको हिरासत)मा राखिएको भने मोरङकै सागर राईलाई (टेकु परिसरको हिरासत)मा राखिएको छ ।

यस्तै, ललितपुरका सानु भण्डारीलाई (जनसेवा वृत्तको हिरासत)मा राखिएको छ भने पाँचथरका कुमार गुरुङ लाई (जनसेवा वृत्तको हिरासत)मा र टोखाका रामशरण केसीलाई (टेकु परिसरको हिरासत)मा र सुनसरीका गोविन्द चौधरीलाई (टेकु परिसरको हिरासत)मा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्