Logo
Logo

सागमा भ्रष्टाचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर । सिंगो देश दक्षिण एशियाली खेलकुदमा केन्द्रित छ । दक्षिण एशियाली खेलकुदका लागि सरकारले ३ अर्ब ६५ करोड बजेट छुट्याएको छ । यो खेलकुद राष्ट्रको पनि प्रतिष्ठा हो । तर, यही मौकामा चौका हान्न जानेकाहरु मालामाल भएका छन् । मंसिर १५ गते उद्घाटन हुने १३औँ दक्षिण एशियाली खेलका लागि रातारात काम हुँदैछ ।

दशरथ रंगशालामा पश्चिम पट्टिको भीआईपी प्याराफिटमा छाना हाल्ने काम धमाधम हुँदैछ । सुरक्षाको दृष्टिलाई ध्यानमा दिँदै भीआईपी बस्ने ठाउँमा ‘फ्याब्रिक’ कपडाको छानो हाल्ने काम भइरहेको छ । उक्त छानो हाल्ने काममै करोडौँ घोटाला भएको छ । भीआईपी प्याराफिटको लागि जर्मनको मेलर फेव्रिक कम्पनीले छ महिना अगाडि तत्कालीन खेलकुद सदस्यसचिव केशव विष्टलाई फेव्रिक र पोलसहित प्रतिस्क्वायरफिट १५ सय ८२ रुपैयाँका दरले १८ हजार स्क्वायरफिटको दुई करोड ४७ लाख ६ सय रुपैयाँको कोटेशन दिएको थियो । र सम्झौता भएको तीन महिनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । तर, विष्टले निरज बम भन्ने ठेकेदारसँगका सेटिङमा उक्त कार्यका लागि ४ करोड ५५ लाखमा ठेक्का दिए ।

त्यसैगरी दशरथ रंगशालाको दर्शकदीर्घामा सस्तो खाले जस्तापाताले ढाकिएको छ । जुन अन्तर्राष्ट्रिय मापदण्डविपरीत हो । सुरक्षाको दृष्टिले पनि जस्तापाताको छाना राम्रो होइन । हावाहुरी आएको बेला जस्तापाताले ठूलो दुर्घटना निम्त्याउन सक्छ । एक पटक दशरथ रंगशालामा हावाहुरीले ठूलो मानव क्षति भएको थियो । त्यसलाई दृष्टिगत गरेर पनि सुरक्षित ‘फेव्रिक’ छानो हाल्नुपर्ने थियो । तर, कमिशनकै लागि विष्टले दर्शकदीर्घामा जस्तापाताको छाना हालेर दशरथ रंगशालालाई कुरुप बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्