
युराेप । प्रकृतिका पूजक किरात समुदायले बेल्जियममा आफ्नो महान चाड साकेला उभौली तथा येले सम्वत ५०८३ भव्य रुपमा मनाएका छन् । किरात समाज बेल्जियमले बुधबार बेल्जियम स्थित लुभेन नगरपालिकाको क्यासेलो पार्कमा विशेष कार्यक्रम आयोजना गरी साकेला उभौली मनाएको हो ।
किराती परम्पराअनुसार भूमि र पितृपूजा गरि सुरु गरिएको उभौली कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्ती थिए । प्रमुख अतिथि मगरले आदिवासी जनजातिहरूले विदेशमा पनि आफ्नो मौलिक धर्म, परम्परा र संस्कृतिहरु पहिचानका लागि कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै नेपाल सम्वत पुरानो क्यालेण्डर भएकोले त्यो विशेष रुपले मनाउन सुझाव व्यक्त गर्दे शुभकामना दिएका थिए । सन्देश पत्रमार्फत बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कार्यक्रम सफलताको लागि शुभकामना दिएका थिए ।
त्यस्तै कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष महेश श्रेष्ठ, बेल्जियम अध्यक्ष खड्कबहादुर केसी, एनआरएनए ग्लोबल बेल्जियम अध्यक्ष पदम गुरुङ, किदुङ समाज अध्यक्ष पेम्वा दोर्जे शेर्पा, विश्व मगर संघ अध्यक्ष लोक राना मगर, संघीय समाजबादी फोरम बेल्जियम अध्यक्ष नेत्र मगर, प्रवासी नेपाली एकता समाज बेल्जियम अध्यक्ष अनिल थापा, पासा पुचः बेल्जियम अध्यक्ष चीजकुमार श्रेष्ठ, प्रवासी नेपाली मञ्च अध्यक्ष निशा गुरुङ, तमु धी बेल्जियम अध्यक्ष प्रविणा गुरुङ, पर्वत समाज बेल्जियम अध्यक्ष नन्दा गुरुङ लगायतले प्रवासमा पनि आफ्नो समुदायको धर्म तथा संस्कृति संरक्षणका लागि किरात समाज बेल्जियमको भूमिकाको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।
किराती परम्पराका बिभिन्न परिकारका साथ गायक राजेश पायल राई, सबनम राई, आसा राई, तारा राई, मालती राई लगायत अतिथिहरूले साकेला सिली नृत्यमार्फत क्यासिलो पार्कमा रौनक प्रदान गरेका थिए । उभौली कार्यक्रम किरात समाजका बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङको अध्यक्षतामा भएको थियो ।











