Logo
Logo

हर्क साम्पाङ र वडाअध्यक्षबीचको विवाद समाधान


8.5k
Shares

काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ र वडाअध्यक्षहरुबीचको पछिल्लो विवाद सुल्झिएको छ । सचेत धराने समुहको पहलमा आज कार्यपालिका बैठक कक्षमा करिब ३ घण्टा भएको छलफलले विवाद मिलेको हो ।

उनीहरुबीच अब मिलेनर नयाँढंगले अघि बढ्ने सहमति समेत भएको छ । सहमति अनुसार आइतबार दिउँसो २ बजेको लागि कार्यपालिका बैठक बोलाइएको छ । बैठक बस्ने पत्र पनि उपमहानगरपालिकाबाट वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई पुगिसकेको वडा नं. १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को भनाई छ ।

बैठकमा सचेत धराने समुहका टिमसँगै मेयर साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नं १८ का अध्यक्ष राई, वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १४ का अध्यक्ष कृष्ण भट्टराई, वडा ६ का अध्यक्ष भुपेन्द्र भट्टराई, वडा २ का अध्यक्ष रमेश राई सहभागी थिए ।

बिहिबार सचेत धराने समुहसँग वडा १८ का अध्यक्ष राईले छलफल गरेर आजको बैठक बस्ने वातावरण तयार गरेका थिए । आजको बैठकमा सबैले आआफ्नो मनमा लागेको कुरा खुलस्त प्रकट गरेको र कमीकमजोरी सच्याएर लैजाने प्रतिवद्धता जनाएका छन् । मेयर साम्पाङले फेसबुकलगायत सामाजिक सञ्जालमा जथाभावी नलेख्ने, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु २८ जनाको राजिनामा माग गरेको बिषय फिर्ता लिने पनि समझदारी भएको छ ।

उपमेयर अइन्द्रबिक्रम बेघाले पनि विगतको सबै कुरा पोखिएको र नयाँ ढंगले अघि बढ्ने निष्कर्षमा बैठक पुगेको बताए । विगतका आआफ्नो सिमा र कमीकमजोरीलाई स्वीकार गर्दै यो गतिरोध अन्त्य गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर भएको छ ।
मेयर साम्पाङको स्वकीय सचिवले वडा कार्यालयमा पठाएको पत्रको विवादले गत चैत १ गते कार्यपालिका बैठक स्थगित भएको थियो । त्यसयता मेयर साम्पाङले बोलाएको बैठक वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बहिष्कार गर्दै आएका थिए । सामाजिक सञ्जालमा मेयर साम्पाङ र उनका समर्थकहरुबीच एकले अर्काप्रति खनिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्