काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलगायत भ्रष्टाचारीलाई कारबाहीबो माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । शनिबार नागरिक अगुवालगायत विभिन्न राजनीतिक दलका कार्यकर्ताले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले ‘करोडौंको महल तिमीलाई कसले किन्दियो’, ‘नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्ने’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनका क्रममा भ्रष्टाचारविरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । विरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा समेत आवाज उठाएको बताउँदै अहिले नागरिकस्तरबाट आवाज आउन थालेकाले सदन र सडकमा उभिएको बताए । उनले भने, ‘यो प्रकरणले (नक्कली शरणर्थी प्रकरण) राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएको छ । त्यसैले यस्तो प्रवृत्ति चिर्न आवश्यक छ ।’

प्रदर्शन सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा समेत कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न आइरहेको बताउँदै भनिन्, ‘यो प्रकरणमा सरकारले जनताको आँखामा छारो हालिरहेको छ ।’ प्रदर्शनको क्रममा उनीहरुले अहिले जनता मुर्ख नरहेको भन्दै जनताको आँखामा छारो हाल्ने काम नगर्न सरकारलाई चेतावनी दिए ।











