Logo
Logo

१६ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको केन्द्रीय कमिटी बैठक

पार्टी सदस्यमा शुद्धीकरण र बिस्तार गर्ने निर्णय


945
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । १६ बुँदे प्रस्ताव पारित गर्दै तीनसम्म चलेको बैठक शनिबार सकिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक सकिएको हो । प्रतिवेदनमा मिसन ग्रासरूटमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापनदेखि नक्कली भुटान शरणार्थीको विषयसम्म समेटिएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय समितिको पाँचौँ बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीका लागि माग गरेको छ ।

यस्तै, बैठकले ३ पटकसम्म लगातार बैठकमा अनुपस्थित भए पार्टी कमिटीबाट बिदा गर्ने निर्णय गरेको छ । सूचना पाएर पनि पार्टीको बैठकमा लगातार ३ पटक अनुपस्थित रहनेहरूलाई कमिटीबाट हटाउने निर्णय गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी गराए ।

यस्तै, भद्दा भएको कमिटीमा पदाधिकारीबाहेक कुनै सदस्य रिक्त रहे त्यहाँ कुनै पनि सदस्य नथप्ने पनि एमालेले निर्णय गरेको ‘मिसन ग्रासरुट’ अभियानको सम्पूर्ण प्रदेशबाट प्राप्त विवरणको समीक्षाको आधारमा स्थायी कमिटीको बैठक बसेर वार्षिक कार्य योजना तयार पारेको पनि गुरुङले जानकारी दिए ।

साथै, पार्टी सदस्यमा शुद्धीकरण र बिस्तार कार्य गर्ने, सदस्य नवीकरणको काम गर्ने पार्टी सदस्य सुदृढीकरण र विस्तारको काम गर्ने, कारणवश नवीकरण छुटेकाहरूको १५ असारसम्म जिल्लाले नवीकरण गरेर प्रदेश कमिटीमा पठाउने स्थायी कमिटीको प्रस्ताव बैठकले अनुमोदन गरेको छ ।

यस्तै, नवीकरण नभएका र सदस्यबाट हटाउनुपर्नेको स्पष्ट कैफियत खुलाउनुपर्ने र प्रत्येक वडामा कूल मतदाताको ३ प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने पनि निर्णय गरेको छ । साथै, प्रदेशदेखि टोलसम्म क्रमशः अधिवेशन गर्ने बैठकले निर्णय गरेको छ ।

एक्सन रुमबाट पार्टीको वैचारिक राजनीतिक प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने, केन्द्रीय पार्टी स्कुलले पाठ्यक्रम, पाठ्यपुस्तक तयार गर्ने, डिजिटल प्लेटफर्मको प्रयोग गर्ने, प्रिन्टका साथै अडियो भिडियोको निर्माण गर्ने, प्रशिक्षणको लागि प्रशिक्षक तयार पार्ने र प्रशिक्षणका लागि केन्द्रले नियमित स्कुल सञ्चालन गर्ने निर्णय भएको पनि प्रचार विभाग प्रमुख गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्