
विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रका मजदुरलाई पनि समेट्नुपर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा शनिबार नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशको ७औँ अधिवेशनको उद्घाटन गर्दै नेता कोइरालाले अनौपचारिक क्षेत्रमा धेरै मजदुर आबद्ध भएकाले उनीहरुको सामाजिक सुरक्षा हुनुपर्नेमा जोड दिए ।
नेता कोइरालाले संविधानमा श्रमिकलाई समेट्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, ‘संविधानमा हामीले आठ क्लष्टरलाई समेटेका छौँ, श्रमिक र युवा छुटेका छन् । यसमा नेपाली कांग्रेस गम्भीर छ, आगामी दिनमा पक्कै समेटिनेछ ।’ भुटानी शरणार्थी प्रकरणले सबै नेपालीको शिर निहुरिएको उनको भनाइ थियो ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले ट्रेड युनियनकर्मीको हकअधिकारका लागि पार्टी र सरकारमा लागिपर्ने बताए ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, ट्रेड युनियनका नेता लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । अधिवेशनले नारायणबाबु कार्कीको नेतृत्वमा सर्वसम्मत नयाँ प्रदेश कार्य समिति चयन गरेको छ ।











