
काठमाडौं । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका मदन राईविरुद्ध आज (आइतबार) अदालतमा मुद्दा दर्ता गरिने भएको छ ।
खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम) का संस्थापक रहेका उनिमाथि एकजना १६ वर्षीया किशोरीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि राई शुक्रबार पक्राउ परेका थिए ।
हिजो शनिबार (सार्वजनिक बिदा) भएकाले आज राईविरुद्ध अदालतमा मुद्दा दर्ताका साथै म्याद थपको अनुमति लिइने खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।
अहिले अभियुक्त राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । जाहेरी दिने किशोरी भने अहिले कसैको संरक्षणमा राखिएको तर यसभन्दा बढी खुलाउन नमिल्ने प्रहरीले बताएको छ ।
उजुरी दिने किशोरीले शुभम फाउन्डेसनमा ७ वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन् ।











