
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नेपालीलाई नक्कली कागजात खडा गरी भुटानी शरनार्थी बनाई अमेरीका पठाउने भन्दै गरेको गठी प्रकरणमा संलग्न देखीएको भन्दै जिल्ला अदालत काठमाडौंले शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार सो प्रकरणमा पक्राउ थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङटावाले हिरासतमा पुगेर भेट गरेका थिए ।
दुलाल र भण्डारी २०७९ चैत १२ देखी हिरासतमा छन् । शेर्पालाई प्रहरीले खोजिरहेको छ । सोही क्रममा शनिबार काठमाडौँको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा मारेको थियो । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।
सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ, भने नेकपा एमालेका निलम्बित सचिव एवं प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएकाे छ । उनीविरुद्ध बैशाख २० गते नै पक्राउ पुजी जारी भएपनि उनी पक्राउ परेका छैनन् ।











