काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई हिन्दु राज्य भन्दै नहिड्न निर्देशन दिएका छन् । शनिबार सकिएको केन्द्रीय कमिटी बैठकमा ओलीले नेताहरुलाई पार्टीको दर्शन र विचार सम्झन आग्रह गर्दै पार्टी केन्द्रीय सदस्यहरुलाई हिन्दु राज्यको पक्षमा धारणा नराख्न निर्देशन दिएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, अध्यक्ष ओलीले अब मुलुक हिन्दु राज्यतिर नफर्कने पनि प्रष्ट पारे । ‘मुलुक अब पछाडि फर्कंदैन, यसतर्फ ध्यान दिनुपर्छ’ ओलीलाई उद्धृत गर्दै एक नेताले भने ।
ओलीले बैठकमा दुई चार जनाले हिन्दु राज्य भन्दैमा उनीहरुकै कुरा मानेर हिंड्ने होईन पार्टीको दर्शन र सिद्धान्ततिर ध्यान कार्यकर्तालाई भनेका छन् ।
राज्यको कुनै धर्म नहुने र सबै धर्मावलम्बीहरुको मुलुक भएको पनि उनले बताए । ‘देशमा हिन्दु धर्म मान्ने बहुसंख्यक छन्, यो धर्म असहिष्णु छैन, यसलाई मान्नुपर्छ । तर अब पछाडि फर्कन सकिंदैन’ ओलीले भनेका थिए ।
यस्तै, ओलीले भारतको समेत उदाहरण दिए । ‘नामै हिन्दुस्थान भएको भारत हिन्दु राज्य होइन, धर्मनिरपेक्ष देश हो’, ओलीले भनेका थिए ।











