Logo
Logo

संक्रमणकालीन विधेयकबारे तीन दलबीच सहमति


1.1k
Shares

काठमाडौं । प्रमुख तीन दलबीच संघीय संसद्का समिति सभापति चयन र विचाराधीन विधेयक अगाडि बढाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति जुटेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सार्वजनिक लेखा समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याँकन समिति (संयुक्त) र प्रतिनिधिसभाको एक थप समितिको सभापति एमालेबाट हुने सहमति जुटेको बताए ।

सहमतिअनुसार आठ समितिका सभापति सत्तारूढ दलबाट हुने भएको छ । यसअघि सार्वजनिक लेखा र राज्यका निर्देशक सिद्धान्त संयुक्त समिति र अर्को एक प्रतिनिधिसभा समिति एमालेले लिने जनाएको थियो । नेता नेम्बाङका अनुसार संसदीय सुनुवाइ समिति कांग्रेसले सभापति लिने भएको छ ।

संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई पनि मिलाएर अगाडि लैजाने सहमति भएको नेम्वाङले बताए । उनका अनुसार संवैधानिक परिषद् विधेयकमा पुरानै व्यवस्था राख्ने सहमति भएको छ ।

उनले भने, ‘संविधानका आधारभूत विषय कार्यान्वयन गर्न सत्ता र प्रतिपक्षबीच समझदारी हुनुपर्छ । बीचमा यो कुरा भत्किएको थियो । त्यसै सन्दर्भमा विशेषतः संसद्को काम अड्किएको जस्तो थियो र त्यसलाई अगाडि बढाउन ठोस पहल भएको छ ।’

संवैधानिक परिषद्मा पनि अध्यक्ष ओलीले मिलाएर लैजाउँ भनेको बताउँदै नेम्बाङले भने, ‘प्रधानमन्त्रीले पनि मिलाएर जान तयार हुनुहुन्छ भन्ने भयो । तर, पुरानै कुरा लैजान तयार हुनुभयो दुबै पक्ष । समितिहरूका कामलाई पूर्ण क्षमतामा अगाडि बढाउन सहमति भएको छ । भोलिदेखि ज्येष्ठ सदस्यहरूले समिति काम अगाडि बढाउने सहमति भएको छ ।’ तीन दलबीच भएको सहमतिअनसार काम भए संसदीय समिति तत्काल संचालनमा आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्