काठमाडौं, १० मंसिर ।
सरकारले १९ पहाडी जिल्लामा सहसचिव सिडिओ र जिल्ला प्रहरी प्रमुखमा एसपीलाई खटाउने भएको छ । त्यसका लागि २० जना सह–सचिवको दरबन्दी थप्ने भएको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप हुने भएको हो ।
सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पनि सह–सचिवको नेतृत्वमा ४० जना अध्यागमन कर्मचारी हुने छन् ।
पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा सह–सचिव सिडिओ खटाइने गृह मन्त्रालया प्रवक्ता केदारनाथ शर्माले बताए । प्रहरीको एसपी खटाउनेबारे अब छलफल सुरु हुने उनले बताए ।
हाल ती जिल्लामा उप–सचिव प्रमुख जिल्ला अधिकारी र प्रहरीतर्फ नायब उपरीक्षक (डीएसपी) प्रमुख रहँदै आएका छन् । यसअघि ४२ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सह–सचिव र ३५ जिल्लामा उप–सचिवको दरबन्दी थियो । जनसंख्या र दुई निर्वाचन क्षेत्र भएको आधारमा गृहले सह–सचिव खटाउने प्रस्ताव अघि बढाएको थियो ।