Logo
Logo

त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन सकेन : झलनाथ खनाल


756
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समाधान दिन नसकेको बताएका छन् ।

अनेरास्ववियूको ५९औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले देश समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेपनि चौतर्फी संकटबाट गुज्रिरहेको बताएका हुन् ।

उनले यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट भएर समाजवाद तिरको यात्रालाई तीव्र र व्यापक पार्नुपर्ने बताए । बढ्दो श्रमजीवि युवाहरु विदेश पलायन भइरहेको बताउँदै नेता खनालले त्रिशंकु संसदले कुनै समाधान दिन नसकेको बताएका हुन् ।

‘युवा तथा विद्यार्थीहरु १ तपाईहरुलाई थाहा छ, हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । तर देश भने चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचार रुपी अजिङ्गरले सिंगो समाजलाई शास फेर्न नसक्ने गरी बेरीरहेको छ । बढ्दो बेरोजगारी र शैक्षिक दिशाहिनताले देशका होनाहार श्रमजीवि युवाहरु खाडी मुलुक र मलेसिया तथा युवा बिधार्थीहरु अस्ट्रेलिया तिर लाग्न बाध्य भइरहेका छन् । त्रिशंकु संसदले जनता र राष्ट्रलाई कुनै समधान दिन सकिरहेको छैन ।’ नेता खनालद्वारा जारी सन्देशमा उल्लेख छ ।

उनले दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी शक्तिविरुद्ध निशाना केन्द्रित गर्न पनि आह्वान गरेका छन् ।तबर अझैसम्म देशका कतिपय वामपन्थी शक्तिहरु मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्ने कुरामा नै अन्योलग्रस्त र दिशाहीन देखिएको खनालको भनाइ छ ।

सम्पूर्ण समस्या, बिकार र विकृतिको एकमात्र समाधान समाजवाद हो भन्दै खनालले समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई पनि समाधान गर्नसक्ने उल्लेख गरेका छन् । त्यसैले यात्रा समृद्धिको र लक्ष्य समाजवादको भन्ने मूल नारालाई दृढतापूर्वक समात्न आग्रह गर्दै खनालले भनेका छन्, ‘समाजको प्रधान अन्तर्विरोध र प्रमुख निशानालाई होसियारीपूर्वक ठम्याऔं । दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने मुख्य प्रतिक्रियावादी शक्तिका विरुद्ध निशाना केन्द्रित गरौं ।’

उनले प्रगतिशील, न्यायप्रेमी, लोकतान्त्रिक, देशभक्त र समाजवादी युवा विद्यार्थीहरुलाई नयाँ चिन्तन, सकृयता र अग्रगतिका निम्ति शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्