
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी आइतबार पक्राउ परेका छन् । २० बैशाखेखि फरार रहेका उनलाई आइतबार साँझ प्रहरीले बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।
उनलाइ प्रहरी वृत लैनचौरमा राखिएकाे छ । ११ दिनदेखि फरार रहेका रायमाझी भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेमध्ये सबैभन्दा उच्च तहका नेता हुन् । उनी चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका थिए ।
रायमाझीसहित यो प्रकरणमा १३ जना पक्राउ परिसकेका छन् । जसमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेलगायत रहेका छन् ।
पक्राउ पुर्जी जारी भएर पनि फरार केहीको खोजी जारी छ । गृह जिल्ला अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगै गएका रायमाझी कार्यक्रम सकेर २० बैशाखमा काठमाडौ फर्कने तयारीमा थिए । तर, उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको र छोरा सन्दीप पक्राउ परिसकेको कारण उनी बिचबाटै भागे ।
बाटो मोडेसँगै उनले आफ्नो मोबाइल फोन बुटवलमै सीमकार्ड झिकेर फ्याँकिदिए । रुपन्देहीमा एक जना प्रहरी अधिकृतसँग पनि भेटेका रायमाझी त्यसपछी ‘छापामार’ शैलीमा गायव भए ।
पक्राउ पूर्जी जारी भएपनि अनुकुल समयमा प्रहरीको सम्पर्कमा आउने वा सिधै अदालतमा उपस्थित हुने भन्नेमा थिए रायमाझी । यो प्रक्रियाका लागि कानुनी परामर्श लिएका उनले विकल्पमा ३ जना व्यक्तिप्रती आशा राखे । पहिलो– केपी शर्मा ओली, दोस्रो– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, र तेस्रो– प्रहरी आइजीपी वसन्त कुँवर ।
यहि विश्वासमा उनले पार्टी अध्यक्ष ओलीलाइ पहिलो सम्पर्क गरे । तर, शरणार्थी प्रकरणमा टोपबहादुरलाई बोक्दा थप समस्या हुनसक्ने भन्दै एकथरिले ओलीलाई हच्काइदिए । यस कुराको खुलासा ओलीले केहि दिनअघि पार्टी मुख्यालयमा दुई दिन चलेको केन्द्रीय कमिटी बैठकमा गरेका थिए ।
उनले भनेका थिए, ‘पार्टी सचिवबाट निलम्बन गरेपछि टोपबहादुरका नजिकका मान्छेबाट आफुलाई फोन आएको थियो । के गर्ने भनेर । जवाफमा मैले प्रहरीकहाँ आएर अनुसन्धानलाई सहयोग गर्नुस् भनेको थिएँ ।’
उनले अगाडी भने, ‘टोपबहादुरजीलाई प्रहरीकहाँ गएर अनुसन्धानलाई सघाउनुस् भनेको थिएँ । आरोपबाट तर्कन खोज्यो, आरोपबाट उम्कन खोज्यो, भाग्न खोज्यो भने सन्देह पैदा हुन्छ । त्यसकारण सच्चाईको सामना गर्नुपर्छ भनेको तर उहाँ भाग्नुभयो’, ओलीले भनेका थिए ।
ओलीबाट पनि आशा नदेखेपछि उनी प्रधानमन्त्री प्रचण्डसँग सम्पर्कमा जान चाहेका थिए । तर, रायमाझीलाई त्यहाँसम्म जना सचिवालयले नै रोक्यो । रायमाझीको प्रस्ताव प्रचण्डसम्म पुगेपनी उनले कुनै चासो दिएनन् । त्यसपछि रायमाझीले आइजीपी कुँवरलाइ फोन लगाए ।
आइजिपी कुँवरले जतिसक्दो छिटो सम्पर्कमा आउनुस भनेपछि रायमाझीले ‘म दोषी छैन, भोलि आफैं उपस्थित हुन्छु तर ‘गिरफ्तार’ नभनी स्वेच्छिक गिरफ्तारी दिएको भन्नुहोला । कानुनलाई सघाउन तयार छु’ भनेर फोन राखेका आइजिपी पुनः गायव भए ।
यही बीचमा रायमाझीले संसदमा ‘विरामी’ भएको पत्र पठाएर अर्को चलाखी गरेपछि प्रहरी जसरी पनि पक्राउ गर्ने भन्दै परिचालित भयो । त्यसपछि प्रहरीले आइतबार साँझ नै उनलाई पक्राउ गर्न सफल भएको हो ।











