
पर्सा । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताएका छन् ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनु पर्ने पनि बताएका छन ।
‘आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरु अपराधी मात्रै होइनन, राष्ट्रद्रोही पनि हुन,’ पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने, ‘देशको नै मान, सम्मान र मर्यादामा आँच पुर्याउनेहरुलाई कसैले साथ दिनु हुँदैन, उनीहरुलाई हदैसम्म कारबाही गर्नुपर्छ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोमा सरकारलाइ धन्यवाद पनि ज्ञापन गरेका छन् । ‘यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुन तरिकाले काम गरिरहेको छ, यो कार्य र साहसिक कदमको सरहाना गर्दछु,’ उनले भने । उनले जनताको विश्वास जित्दै परिणाममुखी कार्य गर्न पनि सुझाव दिएका छन् ।
‘भुटानी शरणार्थी प्रकरणमा मात्र हैन, कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरी दण्ड र सजाय दिनुपर्छ, यसमा जनता र हाम्रो पार्टीको समन्वय र साथ सहयोग रहने नै छ । हामी सरकारको भ्रष्टाचार विरोधी अभियानको साथमा छौं र परेको खण्डमा सहयोग पनि गर्नेछौं, ’उनले भने ।











